आईसीसीले भन्यो- नेपाल भोलिको अफगानिस्तान वा न्युजिल्यान्ड बन्न सक्छ
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल विश्व क्रिकेटको शीर्ष तहमा पुग्ने अर्को प्रमुख दाबेदार राष्ट्र बन्न सक्ने बताएको छ।
नेपाली समर्थकको अभूतपूर्व क्रेज र मैदानमा खेलाडीहरूले देखाएको पछिल्लो प्रदर्शनका आधारमा आईसीसीले नेपाललाई ‘विश्व क्रिकेटको उदाउँदो शक्ति’ का रूपमा चित्रण गरेको हो।
आईसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जोग गुप्ताले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै नेपालको सम्भावनालाई अफगानिस्तान र न्युजिल्यान्डको ऐतिहासिक यात्रासँग तुलना गरेका छन्।
‘नेपाल भोलिको अफगानिस्तान वा न्युजिल्यान्ड बन्न सक्छ,’ गुप्ताले भनेका छन्, ‘उनीहरूले उच्चस्तरीय खेलाडीहरूको यस्तो समूह तयार गरेका छन्, जसले आईसीसीका प्रतियोगिताहरूमा उपस्थिति मात्र जनाइरहेका छैनन्, आफूहरू विश्व क्रिकेटको मञ्चका लागि योग्य रहेको समेत प्रमाणित गरिरहेका छन्।’
अफगानिस्तानको मोडल र नेपालको सम्भावना
युद्धग्रस्त पृष्ठभूमिबाट क्रिकेटमा उदाएको अफगानिस्तानले एसोसिएट तहबाट सुरु गरेर सन् २०१७ मा टेस्ट मान्यता पाएको थियो। नेपाल पनि अफगानिस्तानकै जस्तो प्रेरणादायी यात्रा तय गर्ने लयमा देखिएको आईसीसीको बुझाइ छ।
गुप्ताका अनुसार नेपाल ठूलो व्यापारिक बजार नभए पनि खेलको तीव्र स्तरवृद्धि र समर्थकको व्यापक उपस्थितिले यसलाई क्रिकेट विस्तारको मुख्य केन्द्र बनाएको छ।
आईसीसीले पछिल्लो दुई वर्षमा नेपालको क्रिकेट पूर्वाधार र विकासका लागि करिब ५० लाख अमेरिकी डलर लगानी गरिसकेको छ भने आगामी यू-१९ महिला विश्वकपको सह-आयोजना अधिकारसमेत नेपाललाई दिएको छ।
‘कुनै पनि खेलले चाहेजस्तो सबैभन्दा ठूलो पुँजी नेपालसँग छ- त्यो हो क्रिकेटप्रति गहिरो माया राख्ने विशाल समर्थकहरू’, गुप्ताले भने।
हामी अफगानिस्तानको बाटो पछ्याउन चाहन्छौँ : पारस खड्का
नेपाल क्रिकेट संघकाका सचिव तथा पूर्वकप्तान पारस खड्काले सन् २०१४ को टी-२० विश्वकप छनोट र २०१८ मा प्राप्त एकदिवसीय (ओडीआई) मान्यताले नेपालमा क्रिकेटलाई राष्ट्रिय गौरवको विषय बनाएको बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल)ले देशको क्रिकेटलाई आर्थिक रूपमा बलियो बनाउन थालेको खड्काको भनाइ छ।
‘हामी एक क्रिकेटिङ राष्ट्रको रूपमा अघि बढ्न एनपीएल निर्णायक सावित हुनेछ,’ खड्काले भने, ‘एनपीएलबाट आर्जन हुने आम्दानी क्रिकेट विकास र पूर्वाधार निर्माणमा खर्च गरिनेछ।’
यद्यपि पहिलो र दोस्रो संस्करणको खर्च विवरण अहिलेसम्म सार्वजनिक भएको छैन। त्यसले वर्तमान नेतृत्वमाथि आर्थिक हिनामिनाको समेत आरोप लाग्दै आएको छ। बोर्डकै सदस्यहरूले अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काविरुद्ध अपारदर्शी भएको आरोप लगाउँदै आएका छन्।
नेपालले विश्वकपमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाजस्ता विश्व क्रिकेटका महारथी टोलीहरूलाई कडा चुनौती दिएर आफ्नो क्षमता देखाइसकेको छ। खेलको स्तर अझै माथि लैजान टेस्ट राष्ट्रहरूसँग द्विपक्षीय शृङ्खला खेल्ने तयारी भइरहेको खड्काले जानकारी दिए।
‘जब तपाईं उत्कृष्ट खेलाडी र बलिया टोलीसँग खेल्नुहुन्छ, तब मात्र तपाईं अझ राम्रो बन्नुहुन्छ,’ खड्काले भने, ‘हाम्रा लागि अफगानिस्तानको उदय एउटा ब्लुप्रिन्ट हो, हामी निश्चित रूपमा त्यही यात्रा पछ्याउन चाहन्छौँ।’
भदौ १०, २०८३ बुधबार ०९:३६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।