श्रीलङ्का र भारतबीचको दोस्रो टेस्टमा तीन खेलाडीमाथि कारबाहीको डन्डा

श्रीलङ्का र भारतबीचको दोस्रो टेस्टमा तीन खेलाडीमाथि कारबाहीको डन्डा

काठमाडौं : भारतविरुद्धको दोस्रो टेस्ट खेलका क्रममा आचारसंहिता उल्लङ्घन गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले श्रीलङ्काका स्पिनर प्रभात जयसूर्यालाई कारबाही गरेको छ।

वर्ल्ड टेस्ट च्याम्पियनसीपको श्रीलङ्का र भारतबीच भएको दोस्रो टेस्टमा कारबाहीमा पर्ने जयसूर्या तेस्रो खेलाडी हुन्। आईसीसीले उनलाई औपचारिक चेतावनी दिँदै एक ‘डिमेरिट प्वाइन्ट’ दिएको छ।

सोमबार पहिलो इनिङ्सको खेल सकिनै लाग्दा अन्तिम बलमा आउट भएपछि जयसूर्याले मैदानबाट बाहिरिने क्रममा रिसको झोकमा ब्याटले बाउन्ड्री कुसनमा प्रहार गरेका थिए।

खेल सामग्री वा मैदानका संरचनामाथि अनावश्यक रिस पोख्नु आईसीसी आचारसंहिताको धारा २.२ विपरीत मानिन्छ।

सोही नियम उल्लङ्घन गरेको ठहर गर्दै आईसीसीले उनलाई कारबाही गरेको हो। पछिल्लो २४ महिनामा जयसूर्याले यस्तो गल्ती गरेको यो पहिलो पटक हो।

म्याच रेफ्री एन्डी पाइक्रफ्टले प्रस्ताव गरेको कारबाहीलाई जयसूर्याले स्वीकार गरेपछि यस विषयमा औपचारिक सुनुवाइ आवश्यक परेन।

योसँगै जारी कोलम्बो टेस्टमा आईसीसीको कारबाहीमा पर्ने जयसूर्या तेस्रो खेलाडी बनेका छन्।

यसअघि खेलको पहिलो दिन मैदानमा विवाद गर्दै टाउको जुधाएको घटनामा भारतका ब्याटर यशस्वी जयसवाल र श्रीलङ्काका तीव्र गतिका बलर असिथा फर्नान्डो पनि कारबाहीमा परिसकेका छन्।

भदौ १०, २०८३ बुधबार ०९:१२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।