रास्वपा सांसदलाई सदनमा बोल्न सेन्सर, कोट नलगाए प्रवेशमा प्रतिबन्ध

रास्वपा सांसदलाई सदनमा बोल्न सेन्सर, कोट नलगाए प्रवेशमा प्रतिबन्ध

काठमाडौं : संसदमा आफ्नै पार्टीका सांसदले सरकारको आलोचना गर्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोल्नु अगाडि विषय सचेतकलाई जानकारी गराउन सर्कुलर जारी गरेको छ।

सचेतक क्रान्तिशिखा धितालले पार्टीका सांसदहरूलाई पठाएको सर्कुलरमा संसदमा शून्य वा विशेष समयमा बोल्नु अगाडि बोल्ने विषय आफू वा प्रकाशचन्द्र परियारलाई पठाउन भनिएको छ।

पछिल्लो समय संसदमा रास्वपा सांसद अमरेशकुमार सिंह, जगदीश खरेल, रमेश प्रसाईं, ज्वाला संग्रौला, बुद्धिप्रसाद पन्त, टेकबहादुर शाक्यले सरकारको आलोचना गरेका थिए।

क्रान्तिशिखाले पठाएको सन्देशमा 'शून्य समय र विशेष समयमा बोल्ने विषय अनिवार्य रूपमा एक दिन अगाडि पठाउन' लेखिएको एक सांसदले उकेरालाई जानकारी दिए।

संसदमा कस्ता पोशाक लगाउने भन्ने विषय संसदीय नियमावलीले तय गरेको छ। कसलाई संसदमा प्रवेश गर्न नदिने यो विषय संसद्को क्षेत्राधिकारको विषय हो।

तर रास्वपाले यसमा पनि अंकुश लगाउँदै सांस्कृतिक पोशाक बाहेक अन्य पोशाक लगाएमा कोट अनिवार्यरूपमा लगाउन र कोट र लोगो नलगाए सदनमा प्रवेश गर्न नदिने भनिएको छ।

असार २३, २०८३ मंगलबार २०:०७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।