अदालतबाट हाजिरी जमानीमा छुटेका अभिषेक गिरी फेरि सीआईबीको नियन्त्रणमा
काठमाडौं : निर्माण व्यवसायीलाई ठगी तथा आपराधिक विश्वासघात गरेको अभियोगमा विराटनगरबाट अभिषेक गिरी पक्राउ परेका छन्।
काठमाडौं जिल्ला अदालतबाट सोमबार पक्राउ अनुमति लिएर उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पक्राउ गरेको हो।
यसअघि मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारी अवैध रूपमा रकम असुली गरेको आरोपमा उनी पक्राउ परेका थिए। जिल्ला अदालत मोरङले गिरीलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो।
तर, निर्माण व्यवसायी सुभाष श्रेष्ठले दिएको जाहेरीका आधारमा फेरि उनलाई पुनः पक्राउ परेका छन्। गिरीले विभिन्न व्यक्तिहरूसँग आफ्नो पहुँच रहेको भनेर श्रेष्ठलाई आयोजनाको ठेक्का पारिदिने विश्वास दिलाएका थिए।
उनले आफ्नो कम्पनी 'आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन'मार्फत ठेक्काको काम नियमानुसार सम्पन्न गरिदिने भनी दिएको आश्वासनअनुरूप कार्य नगरेपछि ठेक्का सम्झौता रद्द हुँदा श्रेष्ठलाई आर्थिक हानी पुग्न गएको जाहेरीमा उल्लेख छ।
यसका साथै गिरीले श्रेष्ठका निर्माण कार्यमा प्रयोग हुने सवारी साधनहरू नियन्त्रणमा लिएको र त्यसमध्ये केही साधनहरू धनीलाई जानकारी नै नदिई कवाडीमा बिक्री गरेको आरोप छ।
उनले श्रेष्ठलाई डर-त्रासमा पारी काठमाडौंस्थित घरजग्गा समेत आफ्नो नाममा राजीनामा पास गराई लिएको र श्रेष्ठले अन्य व्यक्तिबाट पाउनुपर्ने रकमको चेक समेत आफ्नै नाममा काट्न लगाएर अनुचित आर्थिक लाभ लिएको जाहेरी परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका गिरीमाथि ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य सुरु भएको प्रहरीले जनाएको छ।
असार २३, २०८३ मंगलबार १९:५३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।