सिंहदरबारमा सल्लाहकारको राज चल्न थालेको भन्दै रामकुमारी झाँक्रीले उठाइन् प्रश्न

सिंहदरबारमा सल्लाहकारको राज चल्न थालेको भन्दै रामकुमारी झाँक्रीले उठाइन् प्रश्न

काठमाडौं : राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले सुशासनको नारा दिए बनेको सरकारले प्रशासनिक संयन्त्रलाई कमजोर बनाएर सल्लाहकारहरू मार्फत शासन चलाउन खोजेको भन्दै सरकारको आलोचना गरेकी छन्। 

राष्ट्रिय सभाको मंगलबारको बैठकमा उनले सोपानमा आधारित कर्मचारीतन्त्रमा रहेका व्यक्तिहरूले धमाधम राजीनामा दिइरहेको र अनिर्वाचित व्यक्तिहरूमार्फत सिंहदरबारबाट शासन चलाउन खोजेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन्।

उनले मन्त्रीका सल्लाहकारहरूलाई विशिष्ट श्रेणी, प्रथम र द्वितीय श्रेणीका अधिकृत सरहको तलब-सुविधा दिने गरी गरिएको नियुक्तिको कानुनी आधार स्पष्ट पार्न माग गरिन्। मन्त्रीहरूका सचिवालयमा भएका नियुक्तिहरू कुन निर्णय र मापदण्डका आधारमा गरिएको हो भन्नेबारे सदनमार्फत जनतालाई जानकारी दिनुपर्ने उनले माग गरिन्।

"सुशासनको नारा दिएका मानिसहरूले सोपानमा आधारित ब्युरोक्रेसीबाट प्रशासन पनि नचलाउने र अनिर्वाचित व्यक्तिहरूले सिंहदरबारमा शासन गर्ने तरिका के हो  ?," झाँक्रीले प्रश्न गरिन्, "कसले कुन-कुन तहका सुविधाहरू कुन निर्णय, कुन संविधान र कुन कानुनले उहाँहरूलाई यो अधिकार दिएको छ ? उहाँहरूको प्रतिबद्धताभन्दा बाहिर चाहिँ उहाँहरूले यो कसरी गर्न सक्नुहुन्छ ?"

कर्मचारीतन्त्रमाथि दबाब बनाएर सल्लाहकारहरूको बढ्दो प्रभावले राज्य सञ्चालनको विधिमाथि नै प्रश्न उठेको उनको भनाइ थियो। 

असार २३, २०८३ मंगलबार १५:१९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।