रुसी ‘यातना गृह’मा युक्रेनी बन्दीलाई विद्युतीय झट्का र यौन हिंसा, बीबीसीले सार्वजनिक गर्यो तीन रुसी अधिकारीको तस्बिर
एजेन्सी : सन् २०१९ को अक्टोबर महिनाको एक बिहान ६४ वर्षीया ल्युदमिला हुसेनोभा आफ्नो घरबाट निस्कँदै गर्दा केही अपरिचित मानिसहरूले उनलाई जबरजस्ती गाडीमा हालेर अपहरण गरे।
त्यसपछिका तीन वर्ष १३ दिन उनले रुसी नियन्त्रणमा रहेका युक्रेनी भू-भागका गुप्त नजरबन्द गृहहरूमा बिताउनुपर्यो, जसलाई उनी आफ्नो जीवनको सबैभन्दा ठुलो दुःस्वप्न भन्छिन्।
उनले भनिन्, ‘त्यस अवधिमा मेरो शरीर र आत्मा दुवैलाई क्षत-विक्षत बनाइयो।’
बीबीसी वर्ल्ड सर्भिसको एक विस्तृत अनुसन्धानले ल्युदमिलालाई यातना दिने र यौन दुर्व्यवहार गर्नेमध्येका केही मुख्य व्यक्तिहरूको पहिचान सार्वजनिक गरेको छ।

युक्रेनी र अन्तर्राष्ट्रिय न्याय प्रणालीभन्दा टाढा रहेर सञ्चालन गरिएका यी गुप्त हिरासत केन्द्रहरूमा सर्वसाधारणमाथि अमानवीय यातना दिने काम कसरी भइरहेको छ भन्ने तथ्य यस अनुसन्धानले बाहिर ल्याएको छ।
अहिले यी पीडकहरू रुस र रुस नियन्त्रित युक्रेनी भूभागमा आफ्ना परिवारसँग सामान्य जीवन बिताइरहेका छन्। पीडितहरूका लागि उनीहरूको पहिचान सार्वजनिक हुनु न्याय प्राप्तिको दिशामा पहिलो कदम बनेको बन्ने बीबीसीको विश्वास छ।
ल्युदमिलाको तीन वर्ष लामो पीडा
रुस समर्थित सशस्त्र समूहले युक्रेनको डोनेट्स्क क्षेत्रको नोभोआजोभ्स्क शहर कब्जा गरेपछि ल्युदमिलाले अनाथ बालबालिकाको हेरचाह गर्ने र युक्रेनी सेनालाई सहयोग गर्ने काम गरेकी थिइन्।
यही कारणले उनलाई जासुसीको आरोपमा पक्राउ गरी डोनेट्स्कको कुख्यात ‘इजोल्यात्सिया’ जेलमा राखियो। यो ठाउँ आर्ट ग्यालरीबाट रूपान्तरण गरी यातना गृह बनाइएको थियो।
जेलमा उनलाई बिहान ६ बजेदेखि राति १० बजेसम्म लगातार उभिन बाध्य पारिन्थ्यो। त्यहाँ उनले अन्य कोठाहरूबाट आउने कैदीहरूको कारुणिक चिच्याहट सुन्नुपर्थ्यो।

ल्युदमिलाका अनुसार उनलाई पक्राउ गर्ने र यातना दिनेमध्ये एक युक्रेनी नागरिक यूरी तेमेरबेक थिए, जो पहिले युक्रेनी ट्राफिक प्रहरी थिए तर पछि रुस समर्थित विद्रोही समूहमा आबद्ध भए।
जेलभित्र एक रुसी सैन्य अधिकारीले ल्युदमिलामाथि यौन दुर्व्यवहार गरिरहँदा ५६ वर्षीय तेमेरबेकले छेउमै बसेर हाँस्दै जिस्क्याइरहेका थिए।
जेलका अर्का सुरक्षाकर्मी रुस्लान येरियोमिचेभले उनलाई फोहोर र माटो मिसाइएको नपाकेको खाना खान बाध्य पारेका थिए।
‘मलाई त्यो खानाको स्वाद अझै याद छ, जसका कारण म अहिले पनि सामान्य खाना सजिलै खान सक्दिनँ’, ल्युदमिलाले भनिन्।
अर्को पटक युक्रेनको समर्थन गरेको भन्दै उनलाई टाउकोमा बोरा ओढाएर कुटपिट गरिएको थियो।
सामाजिक सञ्जालमा भेटिएका तस्बिरहरूमा ४६ वर्षीय येरियोमिचेभ अहिले आफ्नी पत्नी र छोरीसँग छुट्टी मनाउँदै र साथीहरूसँग रमाइलो गर्दै गरेको देखिन्छन्।
ल्युदमिला भन्छिन्, ‘उनीहरू स्वतन्त्र मानिस हुन् र जहाँ पनि जान सक्छन्। तर उनीहरूले कैयौँ मानिसहरूको जीवनका अमूल्य वर्षहरू बर्बाद गरिदिए।’
ल्युदमिलालाई सन् २०२२ को अक्टोबरमा कैदीबन्दी आदानप्रदानका क्रममा रिहा गरिएको थियो।
ओलेक्सी सिभाक र बिजुलीको झट्का
यस्तै यातना भोगेका अर्का ४२ वर्षीय युक्रेनी नाविक ओलेक्सी सिभाक हुन्।
सन् २०२२ मा रुसले युक्रेनको दक्षिणी सहर खेरसोन कब्जा गरेपछि ओलेक्सीलाई रुसी सेनाले नियन्त्रणमा लिएको थियो। उनीमाथि कब्जा विरोधी पर्चाहरू बाँडेको आरोप थियो।
खेरसोनको एक पूर्व प्रहरी चौकीमा राखेर उनलाई चरम यातना दिइयो। ‘उनीहरूले मेरो संवेदनशील अङ्गहरूमा बिजुलीको झट्का दिएर यातना दिए’, ओलेक्सीले आफ्नो पीडा सुनाए।
युक्रेनी अभियोजकहरूका अनुसार उक्त नजरबन्द गृह रुसी प्रहरी अधिकारी आन्द्रे स्पिभाकले चलाएका थिए।

४० वर्षीय स्पिभाक हाल रुसको ओम्स्क सहरमा ट्याक्सी चालकका रूपमा काम गरिरहेका छन् र सामाजिक सञ्जालमा सामान्य जीवन बिताइरहेको देखिन्छन्।
हिरासत केन्द्रहरूको विशाल सञ्जाल
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार रुस नियन्त्रित क्षेत्रहरूमा सर्वसाधारणमाथि दिइने यातना व्यापक छ।
पूर्व कैदीहरूले कुटपिट, बिजुलीको झट्का र यौन हिंसा भोग्नुपरेको विवरण राष्ट्रसङ्घलाई दिएका छन्।
बीबीसीको अनुसन्धानले सन् २०२३ देखि २०२५ को बीचमा कब्जा गरिएको युक्रेनी भूभागमा मात्र ९३ वटा यस्ता गोप्य नजरबन्द गृहहरू सञ्चालनमा रहेको फेला पारेको छ, जसमा कर कार्यालय, होटल र ग्यारेजहरूलाई जेलमा परिणत गरिएको छ।
यसबाहेक रुसभित्र थप १०२ वटा यस्ता केन्द्रहरू पहिचान गरिएका छन्।
युक्रेनी अभियोजन कार्यालयका अनुसार सन् २०२२ को पूर्णकालीन आक्रमणपछि मात्र करिब दुई हजार मानिसहरू यस्ता केन्द्रहरूबाट गुज्रिसकेका छन्।
न्यायको पर्खाइ
युक्रेनी अदालतले हालसम्म दर्जनौं रुसी अधिकारी र उनीहरूका सहयोगीहरू विरुद्ध मुद्दा दर्ता गरेको छ। तीमध्ये धेरैलाई उनीहरूको अनुपस्थितिमा सजाय सुनाइएको छ।
पीडितहरू बदला होइन, कानुनी रूपमा न्याय चाहन्छन्।
ल्युदमिला भन्छिन्, ‘मेरो लागि न्याय भनेको बदला होइन। मेरो लागि न्याय त्यो कानुनी फैसला हो, जसले यी मानिसहरूले जानीजानी र योजनाबद्ध रूपमा अपराध गरेका हुन् भन्ने प्रमाणित गरोस्। म चाहन्छु उनीहरूका छोराछोरीले आफ्ना बुबा अपराधी र यातना दिने क्रूर मानिस थिए भन्ने कुरा थाहा पाऊन्।’
असार २३, २०८३ मंगलबार १०:२०:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।