४५ डिग्रीको गर्मी छल्दै हिँड्न मिल्ने गरी आबुधाबीमा ३ वटा एयर कन्डिसन्ड वाकिङ ट्रयाक सञ्चालनमा
एजेन्सी : अत्यधिक गर्मीका बीच पनि नागरिकलाई शारीरिक रूपमा सक्रिय र स्वस्थ राख्न संयुक्त अरब इमिरेट्स (युएई) को आबुधाबीले तीन वटा एयर कन्डिसन्ड वाकिङ ट्रयाक सञ्चालनमा ल्याएको छ।
गर्मी मौसममा बाहिर निस्किएर हिँडडुल गर्न कठिन हुने अवस्थालाई ध्यानमा राख्दै नगरपालिकाले अल खालिदिय पार्क, अल मामुरा वाकवे र किङ हमाद बिन इसा अल खलिफा पार्कमा यस्तो सुविधा उपलब्ध गराएको हो।
यी खुला पदमार्गहरूमा अन्डरफ्लोर कुलिङ आधुनिक प्रणाली जडान गरिएको छ। प्राकृतिक प्रकाश छिर्ने गरी बनाइएका यी पदमार्गहरूभित्र बाहिरको चर्को घाममा पनि २४ देखि २५ डिग्री सेल्सियससम्मको अनुकूल तापक्रम कायम रहन्छ।
किङ हमाद बिन इसा अल खलिफा पार्कमा करिब ७०० मिटर लामो एयर कन्डिसन्ड वाकिङ ट्रयाक रहेको छ। यहाँ हिँड्नेसँगै हरियाली र खेलकुदका एकीकृत सुविधाहरू उपलब्ध छन्।

अल खालिदिय पार्कमा ६६० मिटर लामो यो वाकवे गत जुनदेखि सञ्चालनमा आएको हो। यहाँ ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूसमेत सहजै हिँडडुल गर्न सक्छन्।
अल मामुरा वाकवे स्थानीय मौसम अनुकूल बनाइएकाले वरपरका अन्य सहरी पूर्वाधारहरूसँग सहज पहुँच जोडेको छ।
यसअघि आबुधाबीको अल नाह्यान क्षेत्रमा पहिलोपटक यस्तो खुला वातानुकूलित ट्रयाक निर्माण गरिएको थियो।
आबुधाबी सरकारले यस पूर्वाधारले नागरिकलाई जिम हलभित्र मात्र सीमित नभई खुला पार्कहरूमा दैनिक शारीरिक अभ्यास गर्न प्रेरित गर्ने विश्वास लिएको छ।
भदौ ९, २०८३ मंगलबार ११:४०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।