सम्पत्ति शुद्धीकरण विभागद्वारा जयवीर देउवालाई सात दिनभित्र बयानका लागि उपस्थित हुन पुर्जी

सम्पत्ति शुद्धीकरण विभागद्वारा जयवीर देउवालाई सात दिनभित्र बयानका लागि उपस्थित हुन पुर्जी

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई बयानका लागि बोलाएको छ।

विभागले आज एक सार्वजनिक सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानका सिलसिलामा केही विषय बुझ्नुपर्ने भएकाले सात दिनभित्र कार्यालयमा उपस्थित हुन पुर्जी जारी गरेको हो।

गत भदौको आन्दोलनका क्रममा क्षति पुगेको बुढानीलकण्ठस्थित देउवा निवासमा विभागले उक्त पुर्जी टाँसेको छ। जेनजी आन्दोलनपछि देउवा परिवार सम्पत्ति शुद्धीकरणको अनुसन्धानको घेरामा परेको हो।

केही दिनअघि मात्र पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नीले आफूहरू उपचारका क्रममा विदेशमा रहेको र आगामी साउन २६ गते नेपाल फर्कने जानकारी विभागलाई पत्रमार्फत गराएका थिए। जयवीर पनि हाल परिवारसँगै विदेशमै रहेको बताइएको छ।

परिवार शक्तिमा रहेका बेला जयवीरले व्यावसायिक विस्तारका लागि शक्तिको दुरुपयोग गरेको र गैरकानुनी रूपमा रकम व्यवस्थापन गरेको आरोप लाग्दै आएको छ।

उनीविरुद्ध नेपाल टेलिकमको बिलिङ ठेक्का र राहदानी (पासपोर्ट) ठेक्का प्रक्रियामा अनियमितता गरेको भन्दै सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ। सोही उजुरीका आधारमा विभागले उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको हो।

असार २३, २०८३ मंगलबार ०८:४६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।