निजामती कर्मचारीका पूर्व ट्रेड युनियनलाई तीन दिनभित्र सरकारी भवन खाली गर्न निर्देशन

निजामती कर्मचारीका पूर्व ट्रेड युनियनलाई तीन दिनभित्र सरकारी भवन खाली गर्न निर्देशन

काठमाडौं : सरकारले साविकका राष्ट्रियस्तरका निजामती कर्मचारी ट्रेड युनियन तथा कर्मचारी सङ्गठनहरूले प्रयोग गर्दै आएका सरकारी भवन तथा संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

मन्त्रालयद्वारा जारी सूचनाअनुसार सम्बन्धित सङ्गठनहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आफूले प्रयोग गरिरहेका भवन तथा अन्य भौतिक संरचना पूर्ण रूपमा खाली गर्नुपर्नेछ।

साथै, कार्यालयमा रहेका कागजात, सम्पत्तिको जिम्मेवारी र भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउन भनिएको छ।

कानुनी व्यवस्था खारेज भएसँगै कदम
नेपाल सरकारले गत २०८३ वैशाख २० गते नेपाल राजपत्रमा प्रकाशित ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ मार्फत निजामती सेवा ऐन, २०४९ मा रहेको ट्रेड युनियनसम्बन्धी कानुनी व्यवस्था खारेज गरेको थियो।

सोही खारेजीपछि यी सङ्गठनहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सर्वोच्चले सरकारकै पक्षमा फैसला गरेपछि दलका भ्रातृ संस्थाका रूपमा रहेका विभिन्न कर्मचारी संगठनहरू सरकारी संरचना प्रयोग गर्ने आधार समाप्त भएको हो।

यी सङ्गठनहरूले खाली गर्नुपर्नेछ भवन
स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठन
नेपाल मधेसी निजामती कर्मचारी मञ्च
नेपाल निजामती कर्मचारी सङ्गठन
नेपाल निजामती कर्मचारी युनियन
नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन
एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल
नेपाल स्वास्थ्यकर्मी सङ्घ
मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल

जिल्ला प्रशासन कार्यालयको रोहवरमा ती सङ्गठनका भवनहरूमा समेत सूचना टाँस गरिसकिएको मन्त्रालयले जनाएको छ।

तोकिएको तीन दिनको समयसीमाभित्र सरकारी संरचना खाली नगरिएमा प्रचलित कानुनबमोजिम बल प्रयोग वा अन्य आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनी समेत मन्त्रालयले दिएको छ।

असार २३, २०८३ मंगलबार ०७:५८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।