सुकुमबासीलाई होल्डिङ सेन्टरबाट निकाल्न खाना बन्द,बसमा राखेर सडकको चोक-चोकमा छाडियो
काठमाडौँ : सरकारले तोकेको समयभित्र सुकुमबासी बस्तीबाट निकालेर राखिएको होल्डिङ सेन्टर खाली नभएपछि अमानवीय रणनीति अपनाउँदै खाना बन्द गराएको छ। बसोबासको वैकल्पिक व्यवस्थापनको आस देखाएर सरकारले वैशाख १० बाट उपत्यकाको सुकुमबासी र अव्यवस्थित बसोबासमा डोजर चलाएर बस्ती खाली गराएको थियो।
सबै व्यवस्था सरकारले गर्ने भन्दै तत्काल उनीहरूको नाम टिपेर कसैलाई होल्डिङ सेन्टरको नाममा सरकारी र धार्मिक स्थान त कसैलाई गेस्ट हाउसमा राखेको सरकारले अन्तमा असार १९ भित्र होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गर्यो।
राहतमा जम्मा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टर खाली गराउने सरकारी रणनीति सफल नभएपछि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ उपत्यका र आसपासका होल्डिङ सेन्टरहरूमा दिँदै आएको खाना नै बन्द गरायो।
सोमबारसम्म बनेपा, खारिपाटी, नगरकोट, बोडे तथा काठमाडौँका विभिन्न होटलमा राखिएका सुकुमबासीहरूलाई अन्तै जान निरन्तर दबाब बढाउँदै खाना बन्द गराइएको छ।
केही होल्डिङ सेन्टरमा रहेका सुकुमबासीहरुलाई बागमती सभ्यताको बसले निकालेर कोटेश्वर र बालाजुको चोकमा ल्याएर सडकमा ओरालेर फर्किए।
सरकारले स्व-व्यवस्थापनका लागि राहत दिएको भन्दै २५ हजार रकम देखाइरहेको छ। सरकारले प्रतिपरिवार २५ हजार रुपैयाँका दरले रकम बाँड्न सुरु गरे पनि धेरैको खातामा अझै पैसा पुगेको छैन।
तर उनीहरूले निरन्तर अब राख्न सक्दैनौ, आफैँ व्यवस्थापन गर्नु भन्दै होल्डिङ सेन्टरबाट निकाले। जो जो होल्डिङ सेन्टरबाट निस्कन मानेनन् उनीहरूका लागि खाना बन्द गरियो।
काठमाडौँको नयाँ बसपार्कलगायतका गेस्ट हाउसमा राखिएका सुकुमबासीहरुलाई समेत होटल सञ्चालकहरूले १९ गतेसम्मको मात्र पैसा दिएको भन्दै कोठा छाड्न दबाब दिइरहेको खुल्यो। त्यहाँ पनि खाना बन्द भइसकेको छ।
बनेपा अनि नगरकोटमा लगेर राखिएकाहरूलाई जसले खानाको जिम्मा लिएका हुन् उनीहरूले १९ गतेसम्मका लागि मात्र पैसा दिएको तर माया लागेर केही दिन खाना दिए पनि अब नसक्ने भनेर जानकारी गराइसकेको खुल्यो।
खाना नै बन्द भएपछि नगरकोटको तालिम केन्द्रमा राखिएका सुकुमबासीहरु बरु काठमाडौं जाने भनेपछि बसमा राखेर काठमाडौं ल्याएर छाडियो। नगरकोटबाट ल्याइएका केहीले भने आफूहरूलाई जवर्जस्ती गाडीमा राखेर बानेश्वरमा ल्याएर छाडिदिएका थिए। नगरकोटबाट १७ परिवार ल्याइएको थियो।
कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेकाहरूलाई असार २२ भित्र निवेदन पेस गर्न भनेको भन्दै त्यहाँ बसेकाहरूले आफूहरू राहत हैन सम्मानजनक पुनर्स्थापना चाहिने भन्दै विरोध गरेका छन्। उनीहरूले संयुक्त विज्ञप्तिमार्फत बसोबास भत्काएर अहिले केही रकम राहत भनेर पन्छिन खोजेको भन्दै आफूहरू राहतको नभई सम्मानजनक पुनर्स्थापनाको पक्षमा रहेको बताएका छन्।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अनुसार असार १९ गतेपछि म्याद नथप्ने र होल्डिङ सेन्टरमा रहेको खानासहितको सुविधा समेत बन्द गरिएको छ। समितिको तथ्याङ्क अनुसार होल्डिङ सेन्टरहरूमा ३ सय ८८ परिवार रहेका छन्। त्यसमध्ये २ सय ५४ जनाको खातामा २५ हजारका दरले रकम पठाइसकिएको छ।
असार २३, २०८३ मंगलबार ००:०२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।