संविधानका आधारभूत संरचना चलाए मुलुक दुर्घटनामा पर्छ : हर्कराज राई

संविधानका आधारभूत संरचना चलाए मुलुक दुर्घटनामा पर्छ : हर्कराज राई

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानको आधारभूत संरचनामा प्रतिकूल असर पर्ने गरी संशोधन नगर्न सरकारलाई सचेत गराएका छन्। 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका राईले संविधान संशोधन गर्दा संघीयता, समावेशिता र धर्मनिरपेक्षतालाई चलाउन नहुने धारणा राखे।

संविधान संशोधनको चर्चा भइरहेका बेला आधारभूत विषयमा दखलअन्दाजी गरिए मुलुक फेरि दुर्घटनामा पर्न सक्ने उनको भनाइ थियो। राईले विगतका राजनीतिक गल्तीबाट पाठ सिक्दै ती संरचनालाई अक्षुण्ण राखेर मात्र अन्य विषयमा छलफल गर्न सकिने बताए। 

"संविधानका आधारभूत संरचनामा तलमाथि गरियो भने सचेतनाका साथ या बेहोसीमै फेरि अर्को दुर्घटना निम्त्याउनेछौं," उनले भनाइ थियो, "विगतमा भएका गल्ती हामीले जान-अन्जानमा पुनः दोहोर्याउनु हुँदैन।"

राईले अब मुलुकमा व्यवस्था परिवर्तनभन्दा पनि काम गर्ने संस्कृतिको विकास हुनुपर्नेमा जोड दिए। केवल व्यवस्था परिवर्तनले मात्र नागरिकको जीवनस्तर सुधार नभएको भन्दै उनले अब रगतको होइन, पसिनाको क्रान्ति आवश्यक रहेको उल्लेख गरे। कामप्रतिको दृष्टिकोण र व्यवहार परिवर्तन नभएसम्म केवल भाषणले मात्र समृद्धि हासिल नहुने उनको तर्क थियो।

राईले भने, "अब यो देशमा रगत होइन, पसिना बगाउनुपर्छ। व्यवस्थाले मात्रै परिवर्तन गरेर हाम्रो चाहिँ जीवनस्तर उक्सिन सकेन भनिसकेपछि अब हामीले रगत होइन पसिनाको क्रान्ति गर्नुपर्छ, काम गर्नुपर्छ।"

विमानस्थलबाट दिनहुँ हजारौंको संख्यामा युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले आफ्नै देशमा भविष्य भेट्टाउने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए। युवा पलायनको सिलसिला अन्त्य गरी मुलुकभित्रै अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।

असार २२, २०८३ सोमबार १९:४६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।