बाटोमा हिँडिरहेकी महिलासामु अश्लील हर्कत गर्ने ५५ वर्षीय भट्ट पक्राउ
काठमाडौं : सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरी गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा प्रहरीले एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ।
ललितपुरको इमाडोलमा बाटोमा हिँडिरहेकी महिलासामु आफ्नो गोप्य अंग प्रदर्शन गरेको आरोपमा बैतडीको पाटन नगरपालिका- ७ घर भई हाल इमाडोलमै बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार पीडित महिलाले घटनाबारे प्रहरीलाई जानकारी गराएको र सामाजिक सञ्जालमा घटनासँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि भट्टलाई खोजतलास गरी पक्राउ गरिएको हो।
उनलाई अहिले प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ। बाटोमा हिँडिरहेकी महिलालाई लक्षित गरी भट्टले अश्लील हर्कत गरेपछि पीडितले उक्त घटनाको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्।
भिडियोमा पीडितले उनलाई नियन्त्रणमा लिन आग्रह गरेको र एक व्यक्तिले भट्टलाई रोकिएको देखिन्छ।
पीडित महिलाले भिडियो खिच्न थालेपछि भाग्न थालेका भट्टलाई रोकेपछि उनले महिलाको खुट्टा ढोगेर माफी माग्दै त्यहाँबाट उम्किएको देखिन्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
असार २२, २०८३ सोमबार १७:११:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।