देउवा पक्षले चुनदेवीमा छुट्टै कार्यालय खोलेर बढायो पार्टी गतिविधि

देउवा पक्षले चुनदेवीमा छुट्टै कार्यालय खोलेर बढायो पार्टी गतिविधि

काठमाडौं : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरी राजनीतिक गतिविधि अघि बढाएको छ। सोमबार पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सम्पर्क कार्यालयको उद्घाटन गरे।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएको देउवा पक्षले सातै प्रदेशको भेला सकेर अब राष्ट्रिय भेलाको तयारी थाल्दै छ। छुट्टै कार्यालय सञ्चालनमा ल्याए लगत्तै अहिले १४औँ महाधिवेशनबाट निर्वाचित देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ।

बैठक राष्ट्रिय भेलाको मिति र आगामी रणनीति बनाउने विषयमा केन्द्रित रहेको बताइएको छ। बैठकमा नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, रमेश लेखक, एनपी साउद, मीनबहादुर विश्वकर्मा र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलगायतको उपस्थिति थियो।

तर, पार्टीको अर्को समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइराला पक्षका नेताहरूको भने सहभागिता छैन। यद्यपि उनले देउवा पक्षका नेताहरूसँग भने निरन्तर छलफल गरिरहेका छन्। 

नेता खड्काले आफूहरू पार्टी एकताकै पक्षमा रहेकाले १११ जनालाई केन्द्रीय सदस्य बनाउनुपर्ने प्रस्ताव संस्थापन पक्षसँग राखेको बैठकलाई जानकारी गराए। 

वर्तमान सभापति गगन थापाका कतिपय अभिव्यक्तिले पार्टी एकतामा असहयोग पुगेको आरोप लगाउँदै नेता मीनबहादुर विश्वकर्माले कांग्रेसको सुदृढीकरणका लागि वैकल्पिक बाटोबारे समेत छलफल भइरहेको बताए।

असार २२, २०८३ सोमबार १६:३६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।