सम्पत्तिको स्रोत नखुलेपछि गाउँपालिका अध्यक्ष बैजुसहित श्रीमती र आमाबुबाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्पत्तिको स्रोत नखुलेपछि गाउँपालिका अध्यक्ष बैजुसहित श्रीमती र आमाबुबाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तासहित उनका परिवारका चार सदस्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार गुप्ताविरुद्ध तीन करोड ४५ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो। 

सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियार अनुसन्धान थालेको थियो। गाउँपालिकाको अध्यक्ष पदमा उनी निर्वाचित भएको २०७४ असार २० देखि २०७९ असार २८ गतेसम्मको जाँच अवधि कायम गरी आय-व्ययको अख्तियारले विश्लेषण गरेको थियो।

जाँच अवधिमा अध्यक्ष गुप्ताको वैधानिक आय तीन करोड ५१ लाख रुपैयाँ देखियो। तर, सोही अवधिमा उनले घर निर्माण, जग्गा खरिद, सेयर तथा सवारी साधन खरिद र अन्य क्षेत्रमा गरी कुल छ करोड ९७ लाख रुपैयाँभन्दा बढी खर्च तथा लगानी गरेको खुल्यो। 

अख्तियारका अनुसार वैध आयको तुलनामा तीन करोड ४५ लाख बराबरको खर्च तथा लगानीको स्रोत नखुलेकाले उक्त रकमलाई गैरकानुनी आर्जन (बिगो) कायम गरेको छ। 

अध्यक्ष गुप्ताले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउन परिवारका सदस्यहरूको नाममा राखेको देखिएपछि उनका बुबा वंशराज गुप्ता, आमा धानमती तेली र दुई श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्तालाई पनि प्रतिवादी बनाएको छ।
 

असार २२, २०८३ सोमबार १५:२५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।