दर्ता अनुमतिबिना नै कन्सल्टेन्सी सञ्चालन, भाषा कक्षा चलाएर मोटो रकम असुली
दमक : झापामा नियमविपरीत सञ्चालित झण्डै दुई सय शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा आएका छन्।
जिल्लाका विभिन्न स्थानमा अनुगमन गरी कानुनअनुसार दर्ता नभएका शैक्षिक परामर्श दाता संस्थाको कागजात जफत गरी कारबाहीको दायरामा ल्याएको नेपाल शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) झापाले जनाएको छ।
इक्यानको परामर्शमा इलाका प्रहरी कार्यालयले अनुगमन गरी कारबाहीको दायरा ल्याइएको उसले जनाएको छ। प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार कोशी प्रदेश सरकारमा जिल्लाका १८८ शैक्षिक संस्था नियमानुसार दर्ता भएका छन्।
तर, झन्डै आधाले दर्ता अनुमतिबिना नै भाषा अध्यापनका लागि शैक्षिक परामर्श कक्षाहरू सञ्चालन गरेका भेट्टिएकाले कानुनको दायरमा ल्याउनुपरेको उनले जानकारी दिए।
दमकमा करिब ९०, बिर्तामोडमा १२५ शैक्षिक परामर्श दाता संस्था छन्। दमकमा सञ्चालित परामर्श दाता संस्थामध्ये ३२ वटाले दर्ता अनुमति लिएका छन्। भाषा अध्यापन गराउने शैक्षिक परामर्श दाता संस्थाले विद्यार्थीसँग मोटो रकम असुल गरी आएको गुनासो आएपछि प्रशासनले अनुगमन तीव्र बनाएको हो।
असार २२, २०८३ सोमबार १५:००:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।