‘सुकुम्बासी नेपाली भूमिमा जन्मिनु गैरकानुनी थिएन होला नि!’

‘सुकुम्बासी नेपाली भूमिमा जन्मिनु गैरकानुनी थिएन होला नि!’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक व्यवस्थाविना सुकुम्बासीलाई विस्थापित गरिनु मानवीय संवेदनाहीन कार्य भएको टिप्पणी गरेको छ।

सरकारको सय दिनबारे प्रतिनिधि सभा बैठकमा धारणा राख्दै उनले सुकुम्बासीको बसोबासमा कानुनी प्रश्न उठे पनि नागरिकको अस्तित्व र पहिचानमाथि प्रहार गर्न नहुने बताए।

"कुनै पनि नागरिकको बसोबास गैरकानुनी थियो होला," उनले भने, "तर उसको जन्म त गैरकानुनी थिएन होला नि। जन्म दिने आमाको गर्भ त गैरकानुनी थिएन होला नि। उ नेपाली भूमिमा जन्मिनु पनि गैरकानुनी थिएन होला नि। त्यसैले सुकुम्बासीहरुको दिगो व्यवस्थापन व्यवहारमुखी कोणबाट गरिनुपर्छ।"

सुकुम्बासी समस्याको समाधान बल प्रयोगबाट नभई दिगो र न्यायोचित व्यवस्थापनबाट खोजिनुपर्ने आङ्देम्बेको भनाइ थियो। प्रतिपक्षले विरोधका लागि मात्र विरोध नगरेको उल्लेख गर्दै सरकार सफलको सफलताको लागि आवाज उठाएको धारणा राखे। सरकार सफलता हुँदा नेपाली सफल हुने भएकोले आफूहरूले सरकार सफल होस भन्ने चाहेको उनले बताए।

तर, सरकारको सफलता डोजर चलाएको सङ्ख्याभन्दा पनि नागरिकको जीवन कति सुरक्षित भयो भन्नेबाट मापन गरिनुपर्ने उनको तर्क छ। 

"हामी सरकार सफल होस् भन्ने चाहन्छौं, किनभने सरकार सफल हुँदा सफल हुने नेपाली जनता हुन्। नेपाली जनताको जीवनमा परिवर्तन आउने हुन्," आङ्देम्बेले भने, "तर सरकारको सफलता उसले कति डोजर चलायो भन्नेबाट होइन, नागरिकको जीवन कति सुरक्षित बनायो भन्नेबाट मापन हुन्छ।" 

असार २२, २०८३ सोमबार १४:३३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।