विराटनगरमा स्वास्थ्य र गृहमन्त्री, कोशी अस्पतालको अतिक्रमित जग्गा एक साताभित्र खाली गराउन निर्देशन

विराटनगरमा स्वास्थ्य र गृहमन्त्री, कोशी अस्पतालको अतिक्रमित जग्गा एक साताभित्र खाली गराउन निर्देशन

विराटनगर : विराटनगरस्थित कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त गराउन स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङले अस्पतालको संयुक्त स्थलगत निरीक्षण गरेका छन्।

शनिबार र आइतबार गरिएको निरीक्षणपछि अस्पतालको जग्गामा बनेका अवैध संरचना तत्काल हटाउने निर्णय गरिएको हो।

अस्पताल प्रशासनले गत असार ५ गते जारी गरेको १५ दिने सूचनाको म्याद सकिँदा पनि जग्गा खाली नगरिएपछि मन्त्री मेहताले अबको एक साताभित्र अस्पताल परिसर अतिक्रमणमुक्त गराउन निर्देशन दिएकी हुन्।

कोशी अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना बनाई केही भाग व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्दै आएका छन्।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा कानुनअनुसार अतिक्रमित संरचना तत्काल खाली गराइने प्रतिबद्धता जनाए।

यसैबीच, स्वास्थ्यमन्त्री मेहताले अस्पताल परिसरमै विशेषीकृत आँखा अस्पताल स्थापना गर्ने तयारीबारे प्रारम्भिक छलफल गर्नुका साथै आकस्मिक कक्ष, वार्ड र निर्माणाधीन संरचनाको अवस्था चुस्त राख्न निर्देशन समेत दिएकी छन्।

असार २२, २०८३ सोमबार ११:५६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।