बालेन सरकार ‘नहुने विरुवाको खस्रो पात’ साबित भयो - प्रलोपा

बालेन सरकार ‘नहुने विरुवाको खस्रो पात’ साबित भयो - प्रलोपा

काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले वर्तमान बालेन नेतृत्वको सरकारको १०० दिनको कार्यकाल पूर्ण रूपमा असफल रहेको ठहर गरेको छ। 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले सरकार राष्ट्रिय स्वाधीनताप्रति असंवेदनशील र आम जनताप्रति अनुदार बनेको आरोप लगाएको हो। सरकारको कार्यशैलीका कारण देशका निम्न वर्गका नागरिकहरू पूर्ण रूपमा निराश बनेको प्रलोपाको दाबी छ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष सन्तोष परियारले सरकार राष्ट्रिय स्वाधीनता, सुशासन, आर्थिक सुधार र जनजीविकाका आधारभूत सवालहरू सम्बोधन गर्न चुकेको बताए। 

सरकारको नीति, प्राथमिकता र कार्यशैलीले मुलुकलाई कुनै पनि अपेक्षित उपलब्धि दिन नसकेको उल्लेख गर्दै उनले भने, "यो सरकार नहुने विरुवाको खस्रो पात जस्तै हो भन्ने कुरा यसको १०० दिने कार्यकालले प्रष्ट पारेको छ।"

परियारले आर्थिक संकट समाधान, रोजगारी सिर्जना, उत्पादन वृद्धि, महँगी नियन्त्रण, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहमा वर्तमान सरकारले उल्लेखनीय सुधार गर्न नसकेको बताए। भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारका क्षेत्रमा पनि सरकार कमजोर देखिएको उनले बताए। 

"सुकुम्बासीलाई विना विकल्प उठिबास लगाइयो, सवारी सूरक्षाका नाममा जनता मारा जरिवान अवलम्बन लगायतका विषयले यो तानाशाहीता तिर उन्मुखतिर छ भन्ने प्रष्ट भएको छ," परियारले थपे।

पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्तिले बालेन सरकार पूर्णरुपले राष्ट्रघाति रहेको आरोप लगाए।

पार्टीका युवा नेता जटिल कार्कीले सात दशकभन्दा लामो राजनीतिक संघर्ष, जनआन्दोलन र संविधानले स्थापित गरेका लोकतान्त्रिक मूल्य, समावेशिता, सामाजिक न्याय तथा संवैधानिक व्यवस्थालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए।

असार २१, २०८३ आइतबार १७:१४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।