धादिङमा फलामको रडले हानेर छोराले गरे बुबाको हत्या
धादिङ : धादिङको गंगाजमुना गाउँपालिका-४ यार्सामा छोराले आफ्नै बुबामाथि फलामको रड प्रहार गरी हत्या गरेका छन्।
३५ वर्षीय सुजन सुनारले ६० वर्षीय बुबा धननारायण सुनारमाथि रड प्रहार गरी गम्भीर घाइते भएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
सुजनले बुबा धननारायणको टाउको र दुवै खुट्टामा रड प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका कारण बोल्न नसक्ने अवस्थामा रहेका धननारायणलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय फुलखर्कबाट प्रहरी सहायक निरीक्षक सर्वेश शर्माको कमाण्डमा खटिएको टोलीले आरोपी सुजन सुनारलाई नियन्त्रणमा लिएको थियो। सुजनको मानसिक अवस्था सन्तुलनमा नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
सुजनको स्वास्थ्य परीक्षण गराई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
असार २१, २०८३ आइतबार १०:४३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।