ट्रकको फल्स बटमभित्र लुकाएको गाँजासहित महोत्तरीबाट दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

ट्रकको फल्स बटमभित्र लुकाएको गाँजासहित महोत्तरीबाट दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं : सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका- ३ अजमरपट्टीबाट ट्रकमा लुकाइछिपाइ लैजाँदै गरेको गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। 

शनिबार विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बथनाहको टोलीले ना ३ ख ६५९२ नम्बरको ट्रक खानतलासी गर्दा उक्त वस्तु फेला पार्यो।

मकवानपुर जिल्लाको कैलाश गाउँपालिका-१ बस्ने २३ वर्षीय साधुराम थिङ र सोही गाउँपालिका-६ बस्ने २१ वर्षीय विपस नेगीलाई नियन्त्रणमा लिइएको थियो। उनीहरु उक्त ट्रकका चालक र मालिक हुन्।

धनकुटाको भेडेटारबाट महोत्तरीको जलेश्वर हुँदै पश्चिमतर्फ जाँदै गरेको उक्त ट्रकलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा चालकले तीव्र गतिमा भगाएका थिए। करिब दुई किलोमिटर टाढा पुगेर ट्रकलाई नियन्त्रणमा लिएको थियो। 

सोधपुछका क्रममा चालकको व्यवहार शङ्कास्पद देखिएपछि ट्रकको सूक्ष्म जाँच गर्दा चालक बस्ने क्याबिनको माथिल्लो भागमा फल्स बटम फेला परेको थियो। सोही स्थानभित्र लुकाइएको तीन बन्डल गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट नेपाली रुपैयाँसहित कतारी रियाल, मलेसियन रिङ्गेट, दुई थान मोबाइल र ट्रक तथा मोटरसाइकलको ब्लुबुकसमेत बरामद गरेको छ। 

असार २१, २०८३ आइतबार ०९:०७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।