सरकारको उपलब्धि सार्वजनिक गर्दाको दृश्य : प्रधानमन्त्री गायब; प्रवक्ता सहजकर्ता, सचिव उत्तरदाता

सरकारको उपलब्धि सार्वजनिक गर्दाको दृश्य : प्रधानमन्त्री गायब; प्रवक्ता सहजकर्ता, सचिव उत्तरदाता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको सय दिन पुरा भएको अवसरमा शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरियो। 

विगतमा प्रधानमन्त्री आफैँले उपलब्धि सार्वजनिक गर्ने प्रचलन रहेको हुँदा प्रधानमन्त्री वालेन्द्र शाह सरकारका उपलब्धि सार्वजनिक गर्न उपस्थित हुने अपेक्षा थियो। तर, सरकारका सय दिनका उपलब्धि सार्वजनिक गर्न प्रधानमन्त्री शाह उपस्थित नभई सरकार प्रवक्ता प्रवक्ता सस्मित पोखरेललाई पठाइयो।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहका सचिवालय सदस्यहरूसहित प्रधानमन्त्री कार्यालय तथा मन्त्रालयका सचिव र कर्मचारीहरूको उपस्थिति थियो। सरकारका प्रवक्ता पोखरेल पत्रकार सम्मेलनमा पुगेपछि प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पत्रकार सम्मेलनको सहजीकरण गरिन्। 

पोखरेलले संक्षिप्त शैलीमा सरकारका सय दिनका उपलब्धिहरू प्रस्तुत गरे। त्यसपछि प्रश्नोत्तरको कार्यक्रम राखिएको थियो। पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ सरकारका प्रवक्ताबाट जवाफ आउने अपेक्षा थियो, तर दृश्य अर्कै देखियो। पोखरेल प्रश्नको जवाफ दिनेभन्दा धेरै सहजकर्ताको जस्तो भूमिकामा देखिए।

पोखरेललाई सोधिएका केही प्रश्नको जवाफ दिएका उनले अधिकांश प्रश्नको जवाफ नदिई सम्बन्धित मन्त्रालयका सचिवलाई जवाफ दिन निर्देशन दिए। अन्त्यमा सरकार मुख्य सचिव सुमन अर्यालले धन्यवाद ज्ञापन गरेर पत्रकार सम्मेलन समापन भयो।

असार २०, २०८३ शनिबार १७:०५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।