सयबुँदे कार्यसूची कार्यान्वयनमा सरकार असफल रहेको कांग्रेसको निष्कर्ष, संसदमा सशक्त रूपमा उठाउने
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार आफ्नो प्रतिबद्धता पूरा गर्न पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ।
सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको कांग्रेसको ठहर छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठकले सरकारको कार्यसम्पादनको समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेको हो। बैठक संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो।
बैठकले मन्त्रालयगत प्रतिवेदनको समीक्षा गर्दै सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको विषयलाई आगामी संसद बैठकहरूमा उठाउने र प्रमुख प्रतिपक्षको हैसियतमा सरकारलाई जवाफदेही बनाउन थप सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।
यसका साथै, कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले १०० दिन सरकार सञ्चालन गर्ने अवसर पाए देशको ‘काँचुली फेर्ने’ दाबी गरेको प्रसंग स्मरण गराउँदै, उनकै दलका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री रहेको सरकारले सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीसमेत प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको आरोप लगाएको छ।
सरकारका सबै मन्त्रालयहरूको कार्यसम्पादनमाथि निरन्तर र सुक्ष्म निगरानी राख्ने नीति लिएको कांग्रेसले संयोजकहरूद्वारा प्रस्तुत प्रतिवेदनका सुझाव र निष्कर्षका आधारमा आवश्यक सुधारात्मक कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
बैठकले मन्त्रालयगत प्रतिवेदनहरूलाई पार्टीको केन्द्रीय कार्यसमितिमा समेत पठाउने निर्णय पनि गरेको छ।
असार २०, २०८३ शनिबार १६:४४:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।