मेरिटोक्रेसीका कारण नियुक्तिमा समावेशिता समेट्न नसकिएको पोखरेलको प्रस्टीकरण

मेरिटोक्रेसीका कारण नियुक्तिमा समावेशिता समेट्न नसकिएको पोखरेलको प्रस्टीकरण

काठमाडौं : सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पछिल्ला राजनीतिक नियुक्तिहरू पारदर्शी प्रक्रिया र योग्यता (मेरिटोक्रेसी) का आधारमा गरिएको स्पष्ट पारे। 

शनिबार सरकारका सय दिनका उपलब्धि सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नियुक्तिहरू समावेशी नभएको भनी उठेका जिज्ञासाको सन्दर्भमा उनले सबै मन्त्रालयबाट हुने नियुक्ति प्रक्रिया खुला र पारदर्शी रहेको जवाफ दिए।

नियुक्ति प्रक्रियामा कुनै समस्या देखिएमा सम्बन्धित मन्त्रालयले नै त्यसबारे स्पष्ट पार्ने उल्लेख गर्दै पोखरेलले सबै विवरणहरू सार्वजनिक र पारदर्शी रहेको बताए। शिक्षा मन्त्रालयबाट भएका नियुक्तिहरूमा विज्ञ समूह गठन गरी उम्मेदवारको सर्टलिस्ट तयार गरेर नियुक्तिको लागि सिफारिस गरिएको उनको भनाइ थियो। 

उक्त प्रक्रियामा मन्त्रीको कुनै भूमिका नरहेको र विज्ञ समूहकै सिफारिसका आधारमा नियुक्ति गरिएको पोखरेलले बताए। समावेशिताको सवालमा सरकारले आवश्यक प्रयास गरे पनि खुला प्रतिस्पर्धाका कारण समावेशिताभन्दा योग्यता (मेरिटोक्रेसी) ले बढी प्राथमिकता पाएको उनको भनाइ छ।

असार २०, २०८३ शनिबार १६:३८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।