ओलीको दाबी : वर्तमान सरकार चटकको भरमा आएको हो, चटककै भरमा जान्छ

ओलीको दाबी : वर्तमान सरकार चटकको भरमा आएको हो, चटककै भरमा जान्छ

काठमाडौं : एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार 'चटक' को भरमा आएकाले आफैं ढल्ने दाबी गरेका छन्।

पार्टी मुख्यालय च्यासलमा आयोजित 'एमाले पार्टी जागरण अभियान' शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारलाई ढाल्ने तत्वहरू भित्रै भएकाले बाहिरबाट बल गरिरहनु नपर्ने दाबी गरे। 

कार्यक्रममा बोल्दै ओलीले भने, "अहिलेको सरकार कसैले नढाले पनि ढाल्ने तत्वहरू त्यहाँ उभिएका छन्। यो चटकको भरमा आएको हो, चटककै भरमा जान्छ।"

अध्यक्ष ओलीले सरकार ढल्ने दिन पर्खेर बस्दा देश र लोकतन्त्र थप संकटमा पर्ने चेतावनी समेत दिए।

"यो सरकार आफैं ढल्ला र कहिले परिवर्तन होला भनेर हामी पर्खिएर बस्न सक्दैनौँ। हामी पर्खिएर मात्र बस्यौँ भने यसले देश, लोकतन्त्र र जनतालाई बर्बाद पारिसक्छ," उनले थपे, "त्यसैले परिवर्तन भनेको पर्खिने चिज होइन, यो त सचेत प्रयासबाट छिटो ल्याइने चिज हो।"

उक्त कार्यक्रममा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं बालेन शाह नेतृत्वको वर्तमान सरकारको कार्यशैलीप्रति तिखो आलोचना गरेका थिए।

असार २०, २०८३ शनिबार १६:०९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।