बागमती प्रदेशमा कांग्रेसभित्रै खटपट : बजेट फेल हुने डरले सांसदलाई ह्विप
काठमाडौं : नेपाली कांग्रेसले बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट पास गराउन आफ्ना प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेको छ।
बजेटलाई लिएर पार्टीभित्र आन्तरिक मतभेद देखिएपछि कांग्रेस बागमती प्रदेश संसदीय दलले शनिबार प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न निर्देशन दियो।
कांग्रेसका मुख्य सचेतक पुकार महर्जनले जारी गरेको तीन बुँदे ह्विपमा आर्थिक मामिला तथा योजना मन्त्रीले पेस गरेको बजेट प्रदेश सभामा निर्णयार्थ पेस गर्दा सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइयो। ह्विपमा मतदानका क्रममा तटस्थ नबस्न र बजेटको पक्षमा मत जाहेर गर्न भनिएको छ।
शनिबार हेटौँडामा कांग्रेस महामन्त्री गुरुराज घिमिरेको उपस्थितिमा बसेको संसदीय दलको बैठकले ह्विप लगाउने निर्णय गरेको थियो। बैठकले पूर्व मुख्यमन्त्री बहादुरसिंह लामाको संयोजकत्वमा गठित बजेट निर्माण सहजीकरण कार्यदलको सुझाव र पार्टीको नीतिगत प्राथमिकता अनुरूप नै बजेट तयार भएको निष्कर्ष निकालेको छ।
बजेट निर्माणको प्रक्रिया र योजना बाँडफाँटलाई लिएर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र पूर्व मुख्यमन्त्री लामा पक्षबीच केही दिनदेखि विवाद चर्किएको थियो। विवादकै कारण लामा पक्षधर केही सांसदहरूले यसअघि प्रदेशसभा बैठक र संसदीय दलको छलफलसमेत बहिष्कार गरेका थिए। प्रदेश सभाबाट बजेट पास पारित गराउन सरकारलाई अप्ठ्यारो पर्न सक्ने देखिएपछि कांग्रेसले ह्विपको सहारा लिएको हो।
असार २०, २०८३ शनिबार १५:१४:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।