गल्फुटार बैठकको भोलिपल्टै बानेश्वर हाइट पुगे शेखर

गल्फुटार बैठकको भोलिपल्टै बानेश्वर हाइट पुगे शेखर

काठमाडौं : पार्टीको संस्थापन इतर समूहको बैठकमा सहभागी नभएका कांग्रेस नेता डा. शेखर कोइरालाले पूर्व उपसभापति विमलेन्द्र निधिसँग भेटवार्ता गरेका छन्।

पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास गल्फुटारमा संस्थापन इतर समूहका नेताहरूको बैठक बसेको भोलिपल्ट शनिबार बानेश्वर हाइटस्थित निधि निवासमा भएको दुई नेताको भेटवार्तामा पार्टीको आन्तरिक अवस्था र मुलुकको समसामयिक राजनीतिबारे छलफल गरेको बताइएको छ।

कांग्रेसको आगामी १५औँ महाधिवेशनको तयारी र पार्टीलाई एकीकृत रूपमा लैजाने विषयमा उनीहरुबीच छलफल भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पेस भएका प्रतिवेदनले संघीयताबारे उठाएका प्रश्न र त्यसले निम्त्याएको बहसका सम्बन्धमा दुई नेताबीच कुराकानी भएको बताइएको छ।

१५ औँ महाधिवेशन नजिकिँदै जाँदा अहिले कांग्रेसभित्र आन्तरिक समीकरणमा फेरबदल भइरहेको देखिन्छ। संस्थापन इतर समूहको बैठकले नेतृत्वसँग सहमतिको सम्भावना कमजोर बन्दै गएको निष्कर्ष निकालेको थियो। पछिल्लो केही दिनयता कांग्रेसका शीर्ष नेताहरूबीच प्रत्यक्ष/अप्रत्यक्ष संवाद भइरहे पनि पार्टीभित्रको विवाद साम्य हुन सकेको छैन।

गत बिहीबार मात्रै नेता निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच छलफल भएको थियो। संस्थापन इतर समूहले आगामी असार २२ गते चुनदेवीस्थित सम्पर्क कार्यालयमा अर्को बैठक आह्वान गरेको छ। उक्त बैठकले समूहको राष्ट्रिय भेला बोलाउन मिति तय गर्ने तयारी गरेको बताइएको छ।

असार २०, २०८३ शनिबार १४:५३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।