अभिमुखीकरण कार्यक्रमको ‘फाइल मिलाउने’ बहानामा होटलमा युवती बलात्कृत, आरोपितको दाबी- ‘सहमतिमै हो’

अभिमुखीकरण कार्यक्रमको ‘फाइल मिलाउने’ बहानामा होटलमा युवती बलात्कृत, आरोपितको दाबी- ‘सहमतिमै हो’

धादिङ : खनियाबास गाउँपालिकाद्वारा आयोजित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी एक १९ वर्षीया युवतीमाथि बलात्कार गरेको अभियोगमा एक युवकविरुद्ध धादिङ जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ।

जिल्ला सरकारी वकील कार्यालय, धादिङले खनियाबास गाउँपालिका वडा नं. १ स्यामचेत बस्ने २८ वर्षीय वर्णबास तामाङविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो।

अभियोग पत्रमा उल्लेख भए अनुसार खनियाबास गाउँपालिकाको कार्यालयले २०८३ जेठ १४ गतेदेखि १८ गतेसम्म वडा नं. १ र २ मा वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो। उक्त कार्यक्रममा कसूरदार भनिएका वर्णबास तामाङ र पीडित युवती दुवै सहभागी थिए।

जेठ १८ गते कार्यक्रम सकिएपछि उनीहरू वडा नं. १ स्थित मनिष तामाङले सञ्चालन गरेको होटलमा बसेका थिए। पीडितका अनुसार प्रतिवादी वर्णबासले गाउँपालिकामा बुझाउनुपर्ने फाइलहरू मिलाउन सहयोग माग्दै उनलाई आफ्नो कोठामा बोलाएका थिए।

फाइल मिलाइरहेको अवस्थामा प्रतिवादीले शारीरिक सम्पर्कको प्रस्ताव राखेको र पीडितले इन्कार गर्दा मोबाइल खोसेर, नियन्त्रणमा लिई बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

प्रतिवादी वर्णबास तामाङले सरकारी वकीलसमक्ष बयान दिने क्रममा आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन्। उनले आफू र पीडितबीच पहिलेदेखि नै निकटता रहेको र उक्त होटलमा बस्ने क्रममा दुवैको आपसी सहमतिमा शारीरिक सम्पर्क भएको दाबी गरेका छन्।

होटल सञ्चालक मनिष तामाङ र अन्य बुझिएका मानिसहरूले उनीहरू दुवै जना अभिमुखीकरण कार्यक्रमको सिलसिलामा होटलमा सँगै बस्ने गरेको र आवतजावत गर्ने गरेको कुरा पुष्टि गरेका छन्।

पीडितको शारीरिक परीक्षण प्रतिवेदनमा यौनाङ्ग क्षेत्रमा पुरानो घाउको खत देखिएको तर हालैको कुनै ताजा चोटपटक नदेखिएको उल्लेख गरिएको छ। नागरिकता प्रमाणपत्र अनुसार घटनाको समयमा पीडितको उमेर १९ वर्ष रहेको पुष्टि भएको छ।

जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता रामप्रसाद पन्थीद्वारा दायर गरिएको अभियोग पत्रमा प्रतिवादीले डर, त्रास र झुक्यानमा पारी पीडितको इच्छाविपरीत बलात्कार गरेको जिकिर गरिएको छ।

प्रतिवादी वर्णबास तामाङविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिमको कसूर प्रमाणित भएको दाबी गर्दै सोही संहिताको दफा २१९ को उपदफा (३) को खण्ड (ड) बमोजिम १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई करणी गरेको कसूरमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय र पीडितलाई उचित क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ।

असार २०, २०८३ शनिबार १४:१३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।