सेवानिवृत्त कर्मचारीको भुक्तानीका लागि महालेखाले थप्यो समय, असार २५ सम्म निकासा गर्न निर्देशन
काठमाडौं : महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीहरूले पाउने सुविधाबापतको रकम भुक्तानीका लागि समय सीमा थप गरेको छ। कार्यालयले आगामी असार २५ गतेभित्रै सुविधाबापतको रकम निकासा गरी भुक्तानी उपलब्ध गराउन देशैभरका सबै कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) लाई निर्देशन दिएको हो।
महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाषचन्द्र अर्यालका अनुसार सेवानिवृत्त कर्मचारीहरूले प्राप्त गर्ने विभिन्न सुविधाहरूमध्ये उपदान, सञ्चित बिदा र औषधीउपचार बापतको रकम समयमै भुक्तानी गर्न/गराउन पत्राचारमार्फत अनुरोध गरिएको छ।
कार्यालयको यही असार १९ गतेको निर्णयअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (२) बमोजिम भुक्तानी निकासाका लागि यो अख्तियारी अवधि थप गरिएको हो।
यसअघि महालेखा नियन्त्रक कार्यालयले असार २० गतेसम्म लागि मात्रै भुक्तानी तथा निकासा गर्ने निर्णय गरेको भए पनि सेवानिवृत्त कर्मचारीहरूको सुविधालाई मध्यनजर गर्दै केही दिनका लागि समय थप गरिएको लेखा अधिकृत अर्यालले जानकारी दिए।
असार २०, २०८३ शनिबार १२:१९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।