नयाँ प्रणालीमा जाँदै राहदानी विभाग, असार २४ देखि २६ सम्म राहदानी सेवा बन्द हुने
काठमाडौं : राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी पूरा गरेको छ।
हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गर्नुपर्ने भएकाले आगामी असार २४ गतेदेखि २६ गतेसम्म देश तथा विदेशमा राहदानीसम्बन्धी सेवाहरू केही दिनका लागि बन्द हुने विभागले जनाएको छ।
विभागद्वारा जारी सूचनाअनुसार जिल्ला/इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरू, यी निकायहरूबाट प्रदान गरिने राहदानी सेवा आगामी असार २४ गतेदेखि २६ गते (जुलाई ८ देखि १०, २०२६) सम्म ३ दिनका लागि पूर्ण रूपमा बन्द रहनेछ।
विभाग आफैँले प्रदान गर्ने राहदानी सेवाहरू असार २५ र २६ गते (जुलाई ९ र १०, २०२६) गरी दुई दिनका लागि बन्द रहनेछन्।
प्रणाली स्तरोन्नतिको काम सम्पन्न भएपछि आगामी असार २९ गते (जुलाई १३, २०२६) देखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सुचारु हुने विभागले जनाएको छ।
यसअघि विभागले २०८२ साल फागुन २८ गते नै नयाँ प्रणालीमा जाने तयारीका क्रममा केही दिन सेवा अवरुद्ध हुन सक्ने व्यहोरा सूचित गरेको थियो।
असार २०, २०८३ शनिबार १०:४७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।