सुस्ताबासीका समस्या सुल्झाउन गृहको निर्देशन : संवेदनशील क्षेत्रमा सुरक्षाकर्मी थपिने, नागरिकता नपाएकाहरूको प्रोफाइल बनाइने

सुस्ताबासीका समस्या सुल्झाउन गृहको निर्देशन : संवेदनशील क्षेत्रमा सुरक्षाकर्मी थपिने, नागरिकता नपाएकाहरूको प्रोफाइल बनाइने

काठमाडौं : गृह मन्त्रालयले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता क्षेत्रमा शान्ति सुरक्षा सुदृढ बनाउन र त्यहाँका बासिन्दाले भोग्दै आएका नागरिकतासम्बन्धी समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयलाई विशेष निर्देशन दिएको छ।

यही असार १७ गते गृहमन्त्रीको संयोजकत्वमा सुस्ता क्षेत्रका बासिन्दाको समस्याका विषयमा छलफल भएको थियो। उक्त छलफलपछि असार १९ गते मन्त्रालयले सचिवस्तरीय निर्णय गरी कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी (पश्चिम) लाई पत्रमार्फत विभिन्न निर्देशन दिएको हो।

मन्त्रालयले सुस्ता क्षेत्रभित्र शान्ति सुरक्षाको चुस्त व्यवस्थापनका लागि सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका स्थानहरूमा तत्काल थप सुरक्षाकर्मी परिचालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशित गरेको छ। सीमावर्ती क्षेत्र भएकाले पनि यहाँको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मन्त्रालयले यो कदम चालेको हो।

सुस्ता क्षेत्रमा बसोबास गर्ने धेरैजसो नेपाली नागरिकले लामो समयदेखि नागरिकता पाउन नसकेको गुनासो आएपछि मन्त्रालयले यसमा गम्भीर चासो देखाएको छ। मन्त्रालयले नागरिकता प्राप्त गर्न योग्य सुस्ताबासीहरूको सूचना सङ्कलन गरी विस्तृत ‘प्रोफाइल’  तयार पार्न निर्देशन दिएको छ।

नागरिकताबाट वञ्चित रहेका योग्य व्यक्तिहरूलाई विद्यमान नागरिकता ऐन तथा नियमावलीबमोजिम आवश्यक प्रक्रिया पूरा गराई नागरिकता प्रदान गर्न गृहको निर्देशन छ। साथै, विद्यमान ऐन/नियमअनुसार नागरिकता प्रदान गर्न नसकिने अवस्था देखिएमा सोको स्पष्ट आधार र कारण खुलाएर नीतिगत पहलका लागि गृह मन्त्रालयमा लेखी पठाउनसमेत भनिएको छ।

असार २०, २०८३ शनिबार १०:४०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।