‘६२ सय पासपोर्ट र ११ सय ड्राइभिङ लाइसेन्स नागरिकको घरदैलोमै पुर्याइयो’
काठमाडौं : सरकारले ‘गभर्मेन्ट कुरियर सर्भिस’बाट ६२ सय पासपोर्ट र ११ सय ड्राइभिङ लाइसेन्स नागरिकको घरदैलोमै पुर्याएको छ।
हुलाक सेवा विभागलाई ‘गभर्मेन्ट कुरियर सर्भिस’का रूपमा विकास गर्दै राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र शैक्षिक प्रमाणपत्र लगायतका कागजात सिधै नागरिकको घरघरमा पुर्याउन सुरू गरिएको हुलाक विभागले जनाएको छ।
नयाँ सरकार गठन भएयता २०८३ असार १९ गतेसम्म विभागले ७५ जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूसँग सम्झौता गरी ६ हजार २ सय ९३ थान राहदानी नागरिकको घरदैलोमै वितरण गरेको हो।
यस्तै, यातायात व्यवस्था विभागबाट प्राप्त ८० हजार ८४ थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) देशका सातै प्रदेशका यातायात कार्यालयहरूमा ढुवानी गरिएको छ। जसमध्ये कास्की, मोरङ, बाँके, पर्सा, सुनसरी, कालिकोट र बाजुरा लगायतका जिल्लामा १ हजार ९३ थान लाइसेन्स नागरिकको घरमै पुर्याइएको छ।
शैक्षिक प्रमाणपत्र र स्वास्थ्य सामग्री ढुवानी
नेपाल खुला विश्वविद्यालयसँग सम्झौता गरी विद्यार्थीका शैक्षिक प्रमाणपत्र घरदैलोमै पुर्याउने कार्य कार्यान्वयनमा आएको छ भने त्रिभुवन विश्वविद्यालयसँग पनि यससम्बन्धी छलफल चलिरहेको छ।
यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सम्झौताअनुसार १७ वटा अस्पतालबाट १ हजार २ सय ३८ वटा प्रयोगशाला नमुनाहरू ढुवानी गरिएको छ। स्वास्थ्य बीमा बोर्डको सामग्री ढुवानीका लागि पनि सम्झौता भई हालसम्म २८ जिल्लाका कार्यालयहरूमा २ हजार ४ सय २० केजी सामग्री ढुवानी भइसकेको छ।
५० वटा हुलाक कार्यालय ‘स्मार्ट हुलाक’मा रूपान्तरण हुँदै
सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यबमोजिम देशका ५० वटा हुलाक कार्यालयहरूलाई सूचना प्रविधिमा आधारित ‘स्मार्ट हुलाक’का रूपमा रूपान्तरण गर्न छनोट गरिएको छ।
हुलाक सेवालाई थप प्रभावकारी बनाउन ‘पोष्टल कोड’लाई ७ डिजिटमा रूपान्तरण गरी ‘पोष्टल इन्टरनल ट्र्याकिङ सिस्टम’को समेत स्तरोन्नति गरिएको छ।
हवाई ढुवानी र भन्सारमा सहजीकरण
हुलाक वस्तु ढुवानीलाई छिटो र छरितो बनाउन यती एयरलाइन्स लगायतका विभिन्न आन्तरिक वायुसेवाहरूसँग पूरक सम्झौता गरिएको छ भने कतार एयरवेजसँग अन्तर्राष्ट्रिय गन्तव्य ढुवानीका लागि छलफल भइरहेको छ।
अन्तर्राष्ट्रिय हुलाक सेवालाई प्रभावकारी बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक हुलाक भन्सार कार्यालय र राष्ट्रिय वाणिज्य बैंकको काउन्टर हुलाक खुला भएसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
अन्य व्यावसायिक साझेदारी
नेपाल टेलिकमका सिमकार्ड तथा अन्य सामग्री ढुवानीका लागिसमेत हालै सम्झौता सम्पन्न भएको छ।
त्यस्तै, जनक शिक्षा सामग्री केन्द्र/सुरक्षण मुद्रण केन्द्रसँगको सम्झौताअनुसार ३४ लाख ७४ हजार थान हुलाक टिकट छपाई गरिएको विभागले जनाएको छ।
प्रतिवेदनअनुसार हालसम्म १ लाख ९८ हजार ३ सय ७ थान पार्सल, चिठ्ठीपत्र र ईएमएस ढुवानी भइसकेको छ।
आगामी आर्थिक वर्षका लागि विभागले डाँक ढुवानीका सवारी साधन खरिद गर्ने, अन्तर्राष्ट्रिय विमान सेवालाई तिर्नुपर्ने रकम व्यवस्थापन गर्ने तथा अन्तर-निकाय समन्वयका कार्यक्रमहरूलाई व्यवस्थित गर्ने गरी बजेट विनियोजनको तयारीसमेत गरेको छ।
असार २०, २०८३ शनिबार १०:०२:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।