बागमतीको डेब्रिजका कारण डुब्छ काठमाडौं, सहत बढ्दा सहायक नदीमा ‘ब्याक फ्लो’

बागमतीको डेब्रिजका कारण डुब्छ काठमाडौं, सहत बढ्दा सहायक नदीमा ‘ब्याक फ्लो’

काठमाडौं : बागमती नदीमा गेग्रान तथा फोहोर (डेब्रिज) थुप्रिएर नदीको सतह उच्च हुँदा सहायक नदीहरूको पानी निकास हुन नपाई काठमाडौँका विभिन्न सडक डुबानमा पर्ने गरेको पाइएको छ।

यही असार १८ गतेको अविरल वर्षापछि उपत्यकाका विभिन्न सडक जलमग्न भई सवारी आवागमन प्रभावित बनेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विज्ञ टोलीसहित बागमती र यसका सहायक नदीहरूको स्थलगत निरीक्षण गरेको थियो।

निरीक्षणका क्रममा बागमती नदीको सतह बढेका कारण टुकुचा, धोबीखोला, विष्णुमतीलगायत सहायक नदीबाट आउने पानी सहज रूपमा बग्न नसकी उल्टो बहाव (ब्याक फ्लो) हुने गरेको पाइएको छ।

वर्षाको समयमा बागमती नदीको सतह सहायक नदीहरूको भन्दा माथि पुग्ने भएकाले पानी नदीमा मिसिन नसकी सडकतर्फ फैलिने गरेको ट्राफिक प्रहरीको निष्कर्ष छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले भने, ‘बागमतीमा थुप्रिएको गेग्रानका कारण नदीको सतह उचालिएको छ। यसले सहायक नदीहरूको पानीको निकास रोकेको देखिन्छ। सम्बन्धित निकायले यसको विस्तृत अध्ययन गरी दीर्घकालीन समाधान खोज्न आवश्यक छ।’

कम्तीमा डेढ मिटर गेग्रान हटाउनुपर्ने सुझाव
वर्षायाममा हुने सडक डुबान न्यूनीकरणका लागि बागमती नदीको पिँधबाट कम्तीमा पनि डेढ मिटर गहिराइसम्मको गेग्रान र फोहोर हटाउनुपर्ने अनुगमन टोलीको सुझाव छ।

यसो गर्न सके पानीको बहाव सहज भई सडकमा पानी जम्ने समस्या उल्लेखनीय रूपमा कम हुने एसएसपी काफ्लेले विश्वास व्यक्त गरे।

उपत्यकामा सडक डुबानको दीर्घकालीन समाधानका लागि नदीको नियमित सफाइ, गेग्रान व्यवस्थापन तथा प्रभावकारी ढल र पानी निकास प्रणाली सुधारमा सम्बन्धित निकायहरूले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

बिहीबारको वर्षापछि सिंहदरबार, न्युप्लाजा, अनामनगर, सिनामङ्गल, गौशाला, तिलगङ्गा र माइतीघरलगायत क्षेत्रका सडक जलमग्न बनेका थिए।

प्रतिकूल मौसम र डुबानका बीच पनि ट्राफिक प्रहरीहरू निरन्तर सडकमा परिचालित भई यातायात व्यवस्थापनमा खटिएका थिए।

असार २०, २०८३ शनिबार ०८:२३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।