गोली हानेर लागुऔषध कारोबारी पक्राउ

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं : लागुऔषध कारोबारी एक भारतीय नागरिकलाई नेपाल प्रहरीले गोली हानेर सिरहाबाट पक्राउ गरेको छ। 

भारतमा बसी नेपालमा लागुऔषध हेरोइन ओसारपसार गर्ने गिरोहको खोजलताल गर्ने क्रममा प्रहरीले भारतको मधुवनीका ३५ वर्षीय अब्दुल कलामलाई गोली हानेर पक्राउ गरेको हो।

उनलाई शुक्रबार सिरहाको लागुऔषध नियन्त्रण ब्यूरो शाखा र स्थानीय प्रहरी टोलीको सहयोगमा सिरहाबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। कलामले प्रहरीमाथि पेस्तोल तेर्साएपछि निजलाई नियन्त्रणमा लिन गोली हान्नु परेको उनले बताए।

कलामले भारतको लालबनियाँ नाकाबाट नेपालको सिराहा, महोत्तरी हुँदै काठमाडौं उपत्यकासम्म लागुऔषध हेरोइन ओसारपसार गर्ने गरेको अनुसन्धानका क्रममा खुल्न आएको उनले बताए। रेग्मीका अनुसार लागुऔषध ओसारपसार गर्ने गिरोहमा सहभागी अन्य तीन जना भने फरार भएका छन्।

पक्राउ पर्न लागेको थाहा पाएपछि सुरुमा गिरोहले कटुवा पेस्तोलबाट प्रहरी टोलीमाथि एक राउण्ड फायर गरेका थिए। त्यसपछि प्रहरीले आत्मरक्षाका लागि दुई राउण्ड हवाई फायर गरी आत्मसमर्पण गर्न चेतावनी दिँदा अटेर गरी कटुवा पेस्तोल ताकिरहेकाले बायाँ खुट्टाको घुँडामुनि एक राउण्ड फायर गरी पक्राउ गरिएको ब्यूरोले सार्वजनिक गरेको घटना विवरणमा उल्लेख छ।

निजको साथबाट लागुऔषध खैरो हेरोइन ११५ ग्राम २० मिलिग्राम तथा कटुवा पेस्तोल पनि बरामद भएको छ। साथै घाइतेको प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको जनाउँदै प्रहरी उपरीक्षक रेग्मीले फरार रहेका तीन जनाको खोजतलास जारी रहेको बताए। 

असार १९, २०८३ शुक्रबार २१:४६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।