पर्यटनमन्त्रीको निर्णयबाट पाँच संस्थाका पदाधिकारी नियुक्त
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषसहित आफू मातहतका पाँच निकाय तथा संस्थामा रिक्त रहेका पदाधिकारी तथा सदस्यहरू नियुक्त गरेको छ।
गत असार १७ र १८ गतेको मन्त्रीस्तरीय निर्णयबाट पशुपति कोषको सदस्य सचिवमा तीर्थप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा मीनाकुमारी श्रेष्ठलाई नियुक्त गरिएको छ।
मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायका अनुसार कोषको सदस्यहरूमा केदारमान भण्डारी, गङ्गासागर बानियाँ, सङ्गीताकुमारी राम, रूपा शाही बास्तोला र रामशोभित नायक नियुक्त गरिएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा डा पुरुषोत्तम भट्टराई नियुक्त भएको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। समितिको सदस्यहरूमा माधवप्रसाद लामिछाने, सिद्धिलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद ढुङ्गेल र नेत्रप्रसाद अधिकारी नियुक्त भएका छन्।
त्यसैगरी, बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्णकुमार लामा नियुक्त भएका छन्। सदस्यहरूमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशनकुमार श्रेष्ठ र मणिभद्र पोखरेल नियुक्त भएका छन्।
मन्त्रालयले पाटन दरबार सङ्ग्रहालय विकास समितिमा शोभानानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जनलाई सदस्य नियुक्त गरेको छ। मन्त्रालयले हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमा सदस्यको रूपमा आलोकसिद्धि तुलाधर, सरस्वती रश्मी शाक्य, मीरा महर्जन र वीरेन्द्रबहादुर मल्ल नियुक्त भएको जनाएको छ।
असार १९, २०८३ शुक्रबार १७:५४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।