सामाजिक सञ्जालमा एआईको दुरुपयोगप्रति रास्वपाको चिन्ता
काठमाडौं : कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारसँगै सामाजिक सञ्जालमा बढेको भ्रामक सामग्रीको सम्प्रेषण र दुरुपयोगको अवस्थालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर सुरक्षा चुनौतीको रूपमा चित्रण गरेको छ।
शुक्रबार प्रतिनिधिसभा सदस्यहरूलाई पार्टीले विकास गरिरहेको डिजिटल प्रणालीबारे जानकारी गराउने तथा साइबर सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित बैठकमा एआईका कारण उत्पन्न दबाब र यसले सिर्जना गरेका जटिलताका विषयमा सांसदहरूबीच छलफल भयो।
रास्वपाकी सचेतकमा सांसद क्रान्तिशिखा धितालका अनुसार एआईको प्रभाव र साइबर अपराधको विषयमा जनप्रतिनिधि र नागरिकमा सचेतना फैलाउनु पर्ने आवश्यकता रास्वपाले महसुस गरेको छ।
उनले भनिन्, "आजभोलि सामाजिक सञ्जालमा विशेषगरी एआई प्रविधिको प्रभाव र दबाब बढेको देखिन्छ। यसको प्रभावकारिता कस्तो छ र त्यसबाट उत्पन्न चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छौं।"
धितालले अगाडि भनिन्, "सबैभन्दा पहिले हामीमाथि साइबर अपराध भइरहेको छ भन्ने कुरा बुझ्न आवश्यक छ । साइबर अपराधको असर र त्यसपछि आउने परिणामबारे धेरैलाई जानकारी हुँदैन, थाहा भए पनि खुलाएर भन्न सक्ने अवस्था हुँदैन। त्यसैले सचेतना अत्यन्त आवश्यक छ।"
उनले पार्टीलाई थप प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत सांसदहरूको कार्यसम्पादन र गतिविधिको डिजिटल अभिलेख राख्ने प्रणाली निर्माण गरिरहेको जानकारी दिइन्।
पार्टीले निर्माण गरिरहेको डिजिटल प्रणालीमार्फत सांसदहरूको कार्यशैली, गतिविधि, जिम्मेवारी निर्वाह र कार्यसम्पादनलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरिने धितालले बताइन्। यसले सांसदहरूको ‘ट्र्याक रेकर्ड’ राख्न तथा कार्यसम्पादन मूल्याङ्कनका सूचक (प्यारामिटर) तयार गर्न सहज हुने उनको भनाइ थियो।
असार १९, २०८३ शुक्रबार १७:३८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।