कांग्रेसभित्र महाधिवेशनको समानान्तर रस्साकस्सी, गोल्फुटारमा इतर पक्षका शीर्ष नेताहरूको बैठक
काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आगामी १५ औँ महाधिवेशनलाई लक्षित गरी समानान्तर राजनीतिक गतिविधि र तयारी तीव्र पारेको छ। शुक्रबार पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा उक्त समूहको बैठक बसेको छ।
दिउँसो २ बजेदेखि जारी बैठकमा नेताहरू विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, महालक्ष्मी उपाध्याय ‘डिना’, एनपी साउद, रमेश लेखक, मीनबहादुर विश्वकर्मा र आनन्दप्रसाद ढुङ्गाना लगायतका शीर्ष नेताहरू सहभागी छन्।
यद्यपि, पार्टीभित्र अर्को समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइराला र उनी पक्षका नेताहरू भने भेलामा सहभागी छैनन्। खड्का र कोइरालाबीच बिहीबार भेटवार्ता भए पनि आजको बैठकमा कोइराला पक्षको अनुपस्थिति देखियो।
विशेष महाधिवेशनबाट आएको वर्तमान नेतृत्वले आफूहरूलाई नसमेटेको भनेर असन्तुष्टि पोखिरहेको यस समूहले सातै प्रदेशमा प्रादेशिक भेला सम्पन्न गरिसकेको छ। शुक्रबारको बैठकमा प्रदेश भेलाहरूको समीक्षा गर्नुका साथै आगामी रणनीति तय गर्ने र राष्ट्रिय भेला आह्वान गर्ने विषयमा छलफल भइरहेको छ।
संस्थापन इतर पक्षले १४ औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरूलाई १५ औँ महाधिवेशन आयोजक समितिमा समेट्नुपर्ने माग राख्दै आएको छ। यसैबीच, संस्थापन पक्षले आगामी असोज १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने तयारी गरिरहँदा इतर पक्षले काठमाडौंको चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरेको छ।
महाधिवेशनको समानान्तर तयारीका लागि खोलिएको उक्त कार्यालयमा अहिले रङरोगन र सरसफाइको काम भइरहेको छ। पार्टी सभापति गगन थापाले १४ औँ महाधिवेशनका सबै सदस्यलाई केन्द्रीय समितिमा समेट्न नसकिने भनेका छन्। तर, इतर पक्षले भने १५ औँ महाधिवेशन निष्पक्ष हुने सुनिश्चितता नभए र आफ्ना सरोकारहरू सम्बोधन नगरिए महाधिवेशनमा सहभागी हुन नसकिने चेतावनी दिँदै आएको छ।
असार १९, २०८३ शुक्रबार १६:०२:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।