पेट्रोल पम्पमा कृत्रिम अभाव देखाए १० लाख जरिवाना र आपूर्ति रोक्का
काठमाडौं : पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्ने र बिनाकारण पम्प बन्द गर्ने व्यवसायीलाई १० लाख रुपैयाँसम्म जरिवाना तथा १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने गरी कानुनी व्यवस्था गरिएको छ।
नेपाल आयल निगमले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली संशोधन गरेर यस्तो कानूनी व्यवस्था गरिएको हो।
पेट्रोलियम व्यवसायीले मूल्य घट्ने थाहा पाएपछि मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखि दिनभर देशभर इन्धन आपूर्ति असहज भएको थियो।
अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायीलाई कारबाही गर्ने कानूनी आधारसमेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बुधबार साँझ नै नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिएकी थिइन्।
मन्त्री यादवको निर्देशन लगत्तै बुधबार साँझ नै निगमको सञ्चालक समिति बैठक बसेर पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली, ०७५ को दफा २९ घ (१) मा ‘बिक्रेताले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ भन्ने वाक्य थपिएको छ।
उक्त कसुरमा पहिलो पटकलाई ३ लाख जरिवाना र ५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का, दोस्रो पटकलाई ६ लाख जरिवाना लिई १० दिन आपूर्ति बन्द र तेस्रो पटक भए १० लाख जरिवाना लिई १५ दिनलाई आपूर्ति बन्द गर्ने व्यवस्था राखिएको छ।
यो व्यवस्थाका कारण आउँदा दिनमा कुनै पनि पेट्रोल पम्प उचित कारण बिना बन्द गरेको भेट्टिए कारबाही हुने सुनिश्चित भएको छ।
असार १९, २०८३ शुक्रबार १४:३२:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।