काठमाडौंको गणेशस्थानमा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार, दुई नाबालिगसहित तीन जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौंको गणेशस्थानमा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार, दुई नाबालिगसहित तीन जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं : काठमाडौं गणेशस्थानस्थित एक होटलमा १७ वर्षीया नाबालिगमाथि भएको सामूहिक जबरजस्ती करणी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं बाल अदालतमा अभियोगपत्र दर्ता गरेको छ।

सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ तथा बाल न्याय सम्पादन (कार्यविधि) नियमावली, २०७६ को नियम १० बमोजिम अभियोगपत्र दायर गरेको हो।

अभियोगपत्रमा उल्लेख भएअनुसार, गत २०८३ जेठ २८ गते काठमाडौं महानगरपालिका वडा नं. १६ गणेशस्थानस्थित ‘होटल रोयल सोलुखुम्बु’ को कोठा नम्बर २०५ मा सो घटना भएको हो।

पीडित नाबालिगका अनुसार, उनका कलेजका साथी आयुष कार्कीले उनलाई घुम्न जाने बहानामा वसन्तपुर पुर्याएका थिए। त्यसपछि खाजा खाने बहानामा सोही होटलमा पुर्याइयो, जहाँ पहिलेदेखि नै दुई किशोरहरू ‘लैनचौर १३’ र ‘लैनचौर १४’ (परिवर्तित नाम) उपस्थित थिए।

होटलको कोठाभित्र ढोका बन्द गरी आयुष कार्कीले नाबालिगलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी गरेका थिए।

त्यसपछि ‘लैनचौर १३’ले पीडितलाई डरत्रास देखाई मुखमैथुन गर्न बाध्य पारेका थिए र सो कार्यको भिडियो आयुष कार्कीको मोबाइलबाट खिचिएको थियो। घटनाबारे कसैलाई जानकारी दिएमा उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की आरोपीहरूले दिएका थिए।

त्यसलगत्तै, ‘लैनचौर १४’ले पीडितलाई सोही कोठाभित्र थुनिक्री भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै पुनः जबरजस्ती करणी गरेका थिए।

पीडितले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक हुने डरले सुरुमा कसैलाई नभने पनि आरोपीहरूले निरन्तर ब्ल्याकमेल र गालीगलौज गरेपछि उनले आफ्नी आमालाई घटनाबारे जानकारी गराएकी थिइन्। पीडितकी आमाले प्रहरी वृत्त लैनचौरमा जाहेरी दर्ता गराएकी थिइन्।

प्रहरी अनुसन्धानका क्रममा घटनास्थलबाट रगतजस्तो दाग लागेको रातो टावेल बरामद गरिएको छ। यसैगरी, आरोपी आयुष कार्कीको मोबाइल नियन्त्रणमा लिई प्राविधिक जाँच गर्दा ग्यालरी फोल्डरभित्र पीडित नाबालिगको नग्न तस्बिर र जबरजस्ती मुखमैथुन गराउँदै गरेको भिडियो फेला परेको अभियोगपत्रमा उल्लेख छ।

पीडितको शारीरिक परीक्षण प्रतिवेदनमा उनको संवेदनशील अङ्गहरूमा चोट लागेको र जबरजस्ती करणी भएको पुष्टि भएको छ।

दुई किशोरहरू ‘लैनचौर १३’ र ‘लैनचौर १४’ माथि मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिम जबरजस्ती करणीको कसूर पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ।

पीडितको उमेर घटनाको समयमा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम भएकाले दफा २१९ (३) को खण्ड (घ) बमोजिम १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ। साथै सामूहिक बलात्कार गरेको प्रमाणित भएकाले दफा २१९ को उपदफा (७) बमोजिम थप ५ वर्ष कैद सजायको मागदाबी गरिएको छ।

आरोपीहरू ‘लैनचौर १३’ (उमेर १६ वर्ष ५ महिना) र ‘लैनचौर १४’ (उमेर १६ वर्ष १० महिना) नाबालिग रहेकाले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (४) बमोजिम वयस्कलाई हुने सजायको दुई तिहाइ सजाय गर्न माग गरिएको छ।

पीडितलाई परेको मानसिक तथा शारीरिक असरको कदर गर्दै मुलुकी अपराध संहिताको दफा २२८ बमोजिम कसूरदारहरूबाट मनासिब क्षतिपूर्ति भराउन तथा पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन माग गरिएको छ।

अर्का आरोपी आयुष कार्की (झिल्के) बालिग देखिएकाले उनको हकमा छुट्टै अभिजोयन प्रक्रिया अगाडि बढाइने सरकारी वकिल कार्यालयले जनाएको छ।

असार १९, २०८३ शुक्रबार १३:२८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।