‘फ्रान्सले अहिलेसम्म मास्टरपिस खेलिरहेको छ, नर्वे हाल्यान्डमा मात्र बढी निर्भर छ’

‘फ्रान्सले अहिलेसम्म मास्टरपिस खेलिरहेको छ, नर्वे हाल्यान्डमा मात्र बढी निर्भर छ’

४८ राष्ट्र सहभागी विश्वकप २०२६ को नकआउट चरण सुरु भइसकेको छ। यसपटक जर्मनी जस्तो बलियो टोलीलाई पराजित गर्दै १६ वर्षपछि विश्वकपमा फर्किएको पाराग्वे अन्तिम १६ मा पुग्नु यस विश्वकपको सबैभन्दा ठूलो धक्का मानिएको छ।

यसै सन्दर्भमा नयाँ टोलीहरूको प्रभाव, विश्वकपको उपाधि दावेदार र अर्कातर्फ नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा निलम्बनको विवादबारे लामो समयदेखि कान्तिपुर दैनिकमा खेल पत्रकारिता गर्दै आएका हिमेशरत्न बज्राचार्यसँग उकेराकर्मी अमृत पुडासैनीले गरेको कुराकानीको सम्पादित अंश:

आँखा निद्रामा झैँ देखिन्छन्, विश्वकपकै प्रभाव त होला!
विश्वकपको अलिअलि प्रभाव त परिहाल्छ नि! रातभरिका खेलहरूले गर्दा निद्रा अलिकति बिथोलिनु स्वाभाविकै हो।

जारी विश्वकपमा अहिलेसम्म कुन टोलीले सबैभन्दा बढी ‘सरप्राइज’दियो जस्तो लाग्छ?
डीआर कंगो र कुराकाओले केही हदसम्म सरप्राइज दिएका छन्। यसपटक टोलीको सङ्ख्या बढाउँदा विश्वकप खल्लो होला कि भन्ने धेरैको आशङ्का थियो, तर त्यस्तो भएन।

नयाँ टोलीहरूले निकै उत्कृष्ट खेलिरहेका छन्। फिफाले टोलीको सङ्ख्या बढाउने जुन निर्णय गरेको थियो, त्यो गलत रहेनछ भन्ने प्रमाणित भएको छ।

समूह चरण र नकआउट चरणको खेलमा कस्तो भिन्नता देख्नुभयो?
लिग चरणमा बराबरी खेल्दा वा एउटा खेल हार्दा पनि अघिल्लो चरण प्रवेशको गणितीय सम्भावना रहन्छ। तर नकआउटमा गल्ती गर्ने ठाउँ हुँदैन, यहाँ हार्ने टोली सिधै घर फर्किनुपर्छ।

त्यसैले नकआउट चरणमा खेलाडीहरूको मानसिक दबाब र खेल्ने रणनीति लिग चरणको भन्दा नितान्त फरक र आक्रामक हुन्छ। त्यो यसपटक पनि देखियो।

यसपटकको विश्वकप प्रविधियुक्त छ। प्रविधिको प्रभाव कस्तो देख्नुहुन्छ?
मलाई प्रविधिमा त्यस्तो ठूलो भिन्नता लागेको छैन। म्याक्सिमम प्रयोग भएको प्रविधि भनेकै भीएआर हो। बलभित्र प्रयोग गरिएको चिप्सले बलको गति र स्पिनको डेटा दिइरहेको छ, तर समग्र खेललाई नै फरक पार्ने किसिमको असाधारण प्रविधि भने देखिएको छैन।

प्रदर्शनका आधारमा यसपटकको सबैभन्दा उत्कृष्ट टिम कुन हो?
यसको एउटै जवाफ हो- फ्रान्स। फ्रान्सले अहिलेसम्म जति पनि खेल खेलेको छ, त्यसलाई ‘मास्टरपिस’ भन्न सकिन्छ। उसको बलियो डिफेन्स, धारिलो फरवार्ड अनि मिडफिल्डको तालमेल उत्कृष्ट छ। अहिले फ्रान्सले जुन स्तरको अट्याक गरिरहेको छ र जस्ता गोलहरू गरिरहेको छ, त्यो साँच्चै हेर्न लायक छ। त्यसैले मेरो नजरमा अहिले ‘ओन्ली वान फ्रान्स’ हो।

फ्रान्सको खेलमा किलियान एम्बाप्पेको भूमिकालाई कसरी हेर्नुहुन्छ?
एम्बाप्पे त फरवार्डका रूपमा उत्कृष्ट गोलकर्ता छँदै छन्। तर फ्रान्सको असली तागत मिडफिल्डमा बलको फ्लो हो। मिडफिल्डले उत्कृष्ट रूपमा बल अगाडि बढाउने भएकाले एम्बाप्पेलाई झन् सजिलो भएको छ। समग्रमा फ्रान्स एउटा पूर्ण प्याकेज हो।

यसपटक परम्परागत ठूला टोलीहरूको रणनीति कस्तो देखियो?
परम्परागत शक्तिका रूपमा चिनिएको जर्मनीको यसपटक निकै खराब ‘डाउनफल’ देखियो। अघिल्ला विश्वकपमा जर्मनी कमजोर देखिँदा पनि अन्तिममा नतिजा आफ्नो पक्षमा पार्थ्यो। तर गत विश्वकप जितेयता जर्मनीको खेल निकै ओरालो लागेको छ।

आयोजक मेक्सिको र नर्वेको प्रदर्शनलाई कसरी विश्लेषण गर्नुहुन्छ?
मेक्सिकोलाई घरेलु समर्थकको ठूलो फाइदा मिलेको छ। लगातार चार खेलमा गोल नखाई ‘क्लीन सिट’ राख्नु मेक्सिकोको मुख्य बलियो पक्ष हो। फ्रान्स र अर्जेन्टिनापछि मेक्सिको तेस्रो उत्कृष्ट टिमका रूपमा देखिएको छ।

नर्वेलाई धेरैले ‘डार्क हर्स’ भनिरहेका छन्। टोलीमा अर्लिङ हालान्ड जस्ता प्रभावशाली खेलाडी छन्। हालान्ड ‘वान टच’ फिनिसर हुन्, उनी बल ड्रिबल गरेर भन्दा पनि उत्कृष्ट पासमा वान टच गोल गर्न खप्पिस छन्।

तर नर्वे केवल हालान्डमा मात्र बढी निर्भर छ। अबको खेल ब्राजिलसँग भएकाले नर्वेका लागि आगामी यात्रा निकै कठिन हुने देखिन्छ।

एउटा सधैँ सोधिने प्रश्न- मेसी कि रोनाल्डो?
मेरो व्यक्तिगत रोजाइमा यी दुवै होइनन्। म इंग्ल्यान्ड र लिभरपुलको कट्टर समर्थक भएकाले मेरा लागि स्टिभन जेरार्ड नै सधैँ उत्कृष्ट खेलाडी हुन्।

युरोपेली र दक्षिण अमेरिकी टोलीको खेलशैलीमा कस्तो भिन्नता पाउनुहुन्छ?
पहिले युरोपेली फुटबल विङ्गरहरूको प्रयोग गरेर लामो पास खेल्ने र टिम वर्कमा बढी केन्द्रित हुन्थ्यो।

दक्षिण अमेरिकी फुटबल, विशेष गरी ब्राजिल र अर्जेन्टिना व्यक्तिगत कौशलता, ड्रिब्लिङ र छोटो पासमा टिकेको हुन्थ्यो। तर अहिले यो भिन्नता निकै कम भएको छ।

किनभने ब्राजिल र अर्जेन्टिनाका अधिकांश खेलाडी युरोपमै खेल्छन् र ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटी आफैँ इटालीका हुन्।

सन् २०१० पछिको फुटबलमा फिजिकल भन्दा टेक्निकल खेल बढेको हो?
यो विश्वकपमा खेलको स्पिड निकै बढेको छ। यसको मुख्य कारण रेफ्रीहरू अलि उदार भएका छन्, उनीहरूले सानातिना फलहरूमा खेल रोक्दैनन्।

यसले गर्दा खेलमा निकै तीव्रता आएको छ र गोलहरू पनि धेरै निस्किएका छन्। तर यस्तो तीव्र गतिको खेल शारीरिक रूपमा निकै चुनौतीपूर्ण हुन्छ। खेलाडीहरू घाइते हुने सम्भावना बढेको छ भने पहेँलो कार्ड कम र रातो कार्ड बढी देखिन थालेको छ।

अब नेपाली फुटबलतर्फ जोडौँ। अहिले एन्फा निलम्बनको सङ्कटमा छ। सरकारी पक्ष (राखेप) एन्फाका कारण निलम्बन भएको भन्छ भने एन्फा राखेपको दबाबलाई दोष दिन्छ। वास्तवमा दोषी को हो?
यसमा ठ्याक्कै यो मात्र दोषी हो भन्न मिल्दैन। तर, अन्तर्राष्ट्रिय फुटबल फिफाको नियम र निर्देशनअनुसार चल्छ।

हामी ‘नेपालमा मात्र फुटबल खेलाउँछौँ, फिफा चाहिँदैन’ भनेर फिफाको नियमविपरीत जान सक्दैनौँ। फिफाको निर्देशनहरूलाई लत्याएर अगाडि बढ्न सम्भव छैन।

विवादको मुख्य कडी भनेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को वर्तमान कार्यसमितिले निर्वाचनको नाममा तहगत चुनाव नगर्ने निर्णय गर्नु हो। विवादको केन्द्रबिन्दु नै यही हो।

एन्फा अलि उदार भएर लचिलो बन्नुपर्ने देखिन्छ। विधान र प्रणाली मिच्ने काम सरकारी पक्ष र एन्फा दुवैतर्फबाट भएको छ।

यो निलम्बनको असर नेपाली फुटबल र खेलाडीमा कस्तो पर्छ?
निलम्बनको सबैभन्दा ठूलो मार खेलाडी, प्रशिक्षक र रेफ्रीहरूलाई पर्छ।

राजनीतिक पृष्ठभूमि भएका पदाधिकारीबाहेक फुटबलमा प्रत्यक्ष जोडिएका करिब २० देखि २५ हजार जनशक्तिलाई यसले गम्भीर असर पुर्याउँछ। जब अन्तर्राष्ट्रिय सहभागिता नै बन्द हुन्छ, खेलाडीहरूले आफ्नो भविष्य देख्दैनन् र पलायन हुने स्थिति आउँछ।

नेपाली फुटबलको इतिहासमा सबैभन्दा स्वर्णिम युग कुन थियो?
मेरो विचारमा सन् १९८० को दशकको अन्त्यदेखि ९० को दशकको सुरुआत नेपाली फुटबलको पहिलो स्वर्णिम युग हो।

रुपकराज शर्माको नेतृत्वमा रहेको त्यो पुस्ताले सन् १९८४ को दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेको थियो। नेपाली समाजमा भिजेका चर्चित खेलाडीहरू त्यही बेलाका थिए।

दोस्रो स्वर्णिम काल वि.सं. २०६० को दशकपछि सुरु भयो, जब एन्फा एकेडेमीको पहिलो ब्याच (विकास मल्लहरूको पुस्ता) मैदानमा आयो र घरेलु लिग निकै व्यावसायिक बन्यो।

अन्तिममा, व्यक्तिगत रूपमा यसपटकको विश्वकप कसले जितोस् भन्ने चाहनुहुन्छ?
फ्रान्स वा मेरो मनपर्ने टोली इंग्ल्यान्डले जित्यो भने निकै खुसी लाग्नेछ।

हेर्नुहोस् भिडियो:

असार १९, २०८३ शुक्रबार १०:२४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।