सशस्त्र प्रहरीको हत्यामा पाँच वर्ष कैद सुनाइएका एमाले सांसद कोइरी पक्राउ

सशस्त्र प्रहरीको हत्यामा पाँच वर्ष कैद सुनाइएका एमाले सांसद कोइरी पक्राउ

जनकपुरधाम : मधेस आन्दोलनको आवरणमा सशस्त्र प्रहरीका असई थमन विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोगमा पाँच वर्ष जन्मकैद सुनाइएका एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।

सफाइ दिने जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालतले उनलाई बुधवार पाँच वर्ष कैद सजाय सुनाएको थियो। प्रहरीले बिहीबार उनलाई फैसला कार्यान्वयनका लागि महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो।

मधेसवादी दलबाट राजनीतिमा सक्रिय रहेका उनी एमालेमा प्रवेश गरेर सांसद भएका थिए। मधेस आन्दोलनमा घाइते भएका विक उपचारका लागि एम्बुलेन्सबाट अस्पताल जानेक्रममा आन्दोलनको बहानामा सडक अवरुद्ध गरेर बसेका कोइरीसहितको समूहले उनीमाथि आक्रमण गरेर थप घाइते बनाउँदा उनको ज्यान गएको थियो।

जिल्ला अदालतले यस घटनामा जोडिएका केहीलाई जन्मकैद, केहीलाई पाँच वर्ष कैद सुनाए पनि कोइरीलाई सफाई दिएको थियो। उच्च अदालतले जिल्लाबाट जन्मकैद सजायको फैसला भएकामध्ये पूर्वप्रदेश राज्यमन्त्री अभिराम शर्मा, जलेश्वर अस्पतालका पूर्वअध्यक्ष धर्मेन्द्र राय र सुरेश पाण्डे, पूर्वनगरप्रमुख रामशंकर मिश्र र पवन कापरको हकमा फैसला उल्टाएर पाँच वर्ष जेल सजाय तोकेको थियो।

जन्मकैदको सजाय पाएका प्रदीप माझी, संजयकुमार साह र मोहन ठाकुरको हकमा जिल्लाकै फैसला सदर भएको छ। कोइरीको हकमा फैसला उल्टाएर पाँच वर्ष कैद सजाय सुनाइएको थियो।

असार १८, २०८३ बिहीबार २१:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।