नेपाली ब्रो र उनकी प्रेमिकालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

नेपाली ब्रो र उनकी प्रेमिकालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं : काठमाडौं जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा ‘नेपाली ब्रो’ भनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बिहीबार थापा र आचार्यलाई थुनामा पठाउने आदेश दिएको हो। सोही मुद्दामा प्रतिवादी बनाइएका कुमारका भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्रीलाई भने अदालतले एक-एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

गत जेठ २२ गते राति तारकेश्वर नगरपालिका-६ पैयुटारमा नेपाली सेनाकी सुवेदार समेत रहेकी ईश्वरी भुजेलको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। श्रीमान् थापाले ईश्वरीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। थापाले सरकारी वकिलसमक्षको बयानमा पनि श्रीमती भुजेलको हत्या गरेको स्वीकार गरिसकेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले उक्त घटनाको अनुसन्धान सकेर बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा दायर गरेको थियो। अदालतको यो आदेशसँगै थापा र आचार्यलाई पुर्पक्षका लागि कारागार पठाइएको छ। 

असार १८, २०८३ बिहीबार १८:३०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।