प्रहरीका आठ एआइजीको सरुवा गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
यसैगरी गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका छन्। सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई नियुक्त गरेको छ।
सरकारका प्रवक्ता पोखरेलले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा)लाई नियुक्त गर्ने निर्णय पनि गरिएको जानकारी दिए।
यस्तै, सरकारले कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ।
सरकारले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। ‘एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन’लाई अनुमोदनका निम्ति संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरिएको छ।
सरकारले राष्ट्रिय सदाचार नीति, २०८३ स्वीकृत गरेको छ। साथै, राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गरिएको छ।
असार १८, २०८३ बिहीबार १६:५६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।