महाधिवेशनको मिति नजिकिँदासम्म सुल्झिएन कांग्रेसको विवाद, रणनीति बुन्दै निधि, कोइराला र सिंह

महाधिवेशनको मिति नजिकिँदासम्म सुल्झिएन कांग्रेसको विवाद, रणनीति बुन्दै निधि, कोइराला र सिंह

काठमाडौं : नेपाली कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयमा उठेको विवाद विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितले घोषणा गरेको १५औँ महाधिवेशनको मिति नजिकिँदासम्म सुल्झिन सकेको छैन। 

विवाद समाधानको लागि संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच प्रयास भइरहे पनि एकताबद्ध हुने बाटो हालसम्म पहिल्याउन सकेको छैन। दुई पक्षबीच विवाद समाधानको लागि प्रस्ताव आदानप्रदान भइरहेका छन्, तर दुवै पक्ष आ-आफ्नो अडानमा रहँदा समाधानको बिन्दु पहिल्याउन सकेको छैन।

पार्टीमा जारी विवाद सुल्झिन नसकेको अवस्थामा शीर्ष नेताहरू आ-आफ्नो समूहमा रणनीति निर्माणमा केन्द्रित भएको देखिन्छ। यहिबेला पार्टीका तीन पूर्व पदाधिकारी विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंह बिहीबार छलफलमा जुटेका छन्।

पूर्व उपसभापति निधिको मध्यबानेश्वरस्थित निवासमा भएको भेटवार्तामा उनीहरूबीच पार्टीभित्रको पछिल्लो विवाद समाधान र आगामी १५औँ महाधिवेशनको तयारीका विषयमा छलफल भइरहेको बताइएको छ। विशेषगरी कांग्रेसभित्रको सदस्यता विवाद र संगठनको आन्तरिक समीकरणको विषय मुख्य एजेण्डा रहेको बताइएको छ। 

कांग्रेसका यी तीन नेताले पछिल्लो समय सामूहिक छलफल गर्दै आएका छन्। उनीहरू गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनमा भने सहभागी भएका थिएनन्। १५औँ महाधिवेशनको तयारी चलिरहँदा उनीहरुबीचको यो भेटलाई चासोका साथ हेरिएको छ। कांग्रेसको १५औँ महाधिवेशन आगामी १६ देखि १९ असोजसम्म हुने कार्यतालिका छ। 

असार १८, २०८३ बिहीबार १६:०४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।