सरकार कुम्भकर्ण निद्रामा छ, घण्टी बजाएरै जगाउने बेला आयो : यादव
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले सरकार कुम्भकर्ण निद्रामा रहेकोले घण्टी बजाएरै जगाउने बेला आएको दाबी गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले युवाहरू लागुऔषधको दलदलमा डुब्दा पनि सरकार त्यसलाई नियन्त्रण गर्न असफल भएको बताए। सिरहामा मात्र पछिल्लो १५ दिनमा छ वटा मुद्दा दर्ता र १२ जना पक्राउ परेको तथ्यांक प्रस्तुत गर्दै उनले देशभरको अवस्था अझ भयावह रहेको बताए।
"देशका युवा लागुऔषधको दलदलमा डुब्दा पनि सरकार कुम्भकर्ण निद्रामा छ," यादवले भने, "आज सरकारलाई घण्टी बजाएरै जगाउने बेला आएको छ। तथ्यांक अत्यन्तै डर लाग्दो छ।"
आफूले लागुऔषध नियन्त्रणको लागि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिदेखि सञ्चार माध्यममा समेत कुरा उठाउँदा सरकारले हालसम्म नसुनेको उनको भनाइ थियो। यादवले लागुऔषध नियन्त्रणको सफलता पक्राउको संख्यामा बढ्नुमा नभई कुलतमा फसेका युवाहरूको संख्या घट्नुमा हुने बताए।
"सरकारसँग न स्पष्ट कार्य योजना छ। न त युवालाई बचाउने दृढ इच्छा शक्ति छ," उनले भने, "लागुऔषध नियन्त्रणको सफलता पक्राउको संख्यामा होइन। कुलतमा फसेका युवाहरूको संख्या घटेको आधारमा मापन हुनपर्छ। तस्करमाथि निर्मम कारबाही गर्दै कडा कार्ययोजना ल्याउन सरकारसँग माग गर्दछु।"
असार १८, २०८३ बिहीबार १५:२४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।