कञ्चनपुरबाट पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुरबाट पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर : कञ्चनपुरका स्थानीय पत्रकार खेम भण्डारी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई भीमदत्त नगरपालिका-१८, पुष्पलाल चोकबाट नियन्त्रणमा लिएको हो।

५० वर्षीय भण्डारीलाई निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जती कसुरमा अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको २०८२ चैत २२ गतेको फैसलाले भण्डारीलाई गाली बेइज्जती कसुरमा दोषी ठहर गरेको थियो।

अदालतले उनलाई १ महिना ७ दिन कैद, १२ हजार १०० रुपैयाँ जरिवाना तथा पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भण्डारीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको छ।

असार १८, २०८३ बिहीबार १३:३२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।