‘नेपाली ब्रो’ले श्रीमती मारेको खबर टिकटक लाइभबाट फैलाएका प्रकाश भुजेलसँग प्रहरीले किन लियो बयान?

‘नेपाली ब्रो’ले श्रीमती मारेको खबर टिकटक लाइभबाट फैलाएका प्रकाश भुजेलसँग प्रहरीले किन लियो बयान?

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका-६ पैँयुटार हत्याकाण्डका मुख्य अभियुक्त कुमार थापा मगर (नेपाली ब्रो) विरुद्धको अनुसन्धानमा चर्चित झाँक्री प्रकाश भुजेलले आफूले गलत बाटोमा नलाग्न कुमारलाई पटक-पटक आग्रह गरेको बयान दिएका छन्।

भुजेलले आफ्नो बयानमा मृतक ईश्वरी भुजेलसँग आफ्नो ‘दाइ-बहिनी’को सम्बन्ध रहेको खुलाउँदै कुमार थापालाई विवाहेत्तर सम्बन्ध नलिन र गलत बाटोमा नलाग्न आफूले पटक-पटक सम्झाएको दाबी गरेका छन्।

झाँक्री प्रकाश भुजेलका अनुसार कुमार थापासँग उनको चिनजान करिब तीन वर्षअघि कुमार अन्य कुनै मुद्दामा थुनामा परेका बेला भएको थियो।

कुमारले भुजेलको थरकी केटी (ईश्वरी भुजेल) सँग विवाह गरेको थाहा पाएपछि उनीहरूबीच निकटता बढेको थियो। करिब एक वर्षअघि कुमारले श्रीमती ईश्वरीलाई गोकर्णेश्वरस्थित भुजेलको आश्रममा लगेर चिनाएका थिए।

एउटै थर भएका कारण प्रकाश र ईश्वरीबीच दाइ-बहिनीको नाता कायम भएको थियो। चाडबाडमा ईश्वरीले प्रकाशलाई भाइटीका लगाइदिने गर्थिन् भने प्रकाशले कुमारलाई ‘ज्वाइँ’ र उनीहरूका छोराहरूलाई ‘भान्जा’ भनी सम्बोधन गर्ने गर्थे। उनीहरूबीच घरायसी सरसापट र लेनदेन समेत हुने गरेको बयानमा उल्लेख छ।

विवाहेत्तर सम्बन्धबारे चेतावनी
प्रकाश भुजेलले सामाजिक सञ्जाल र बजारको हल्लाका माध्यमबाट कुमार थापा र प्रतिक्षा आचार्यबीचको अनैतिक सम्बन्धबारे थाहा पाएका थिए। कुमारले प्रतिक्षा र अन्य केटीहरूलाई लिएर हिँड्ने गरेको कुरा थाहा पाएपछि आफूले कुमारलाई सम्झाउने गरेको भुजेलले बताएका छन्।

उनले बयानमा भनेका छन्, ‘मैले कुमारलाई यस्तो गलत क्रियाकलाप नगर्न, घरबार नबिगार्न र आफ्नी श्रीमतीसँग मिलेर बस्न सम्झाएको थिएँ।’

कुमार र ईश्वरीबीचको पारिवारिक विवाद, प्रहरी वृत्त बालाजुमा भएको मिलापत्र, वैवाहिक जबरजस्ती करणीको मुद्दा र डिभोर्सको मुद्दासम्बन्धी सबै विवादबारे आफू जानकार रहेको भुजेलले स्वीकार गरेका छन्।

टिकटक लाइभमै सुने हत्याको खबर
जेठ २२ गते राति करिब ११ बजे प्रकाश भुजेल सामाजिक सञ्जाल टिकटकमा लाइभ बसिरहेका थिए। सोही समयमा उनलाई एक जना पत्रकारले ह्वाट्सएपमा फोन गरेर ‘नेपाली ब्रोले आफ्नी श्रीमतीको हत्या गरेको र शव टिचिङ अस्पतालमा रहेको’ जानकारी दिएका थिए।

त्यो सुनेर आफू स्तब्ध भएको बताउँदै भुजेलले तत्काल आफ्नो टिकटक लाइभबाटै सबै साथीहरूलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल जाउँ भनेका थिए।

तर, अस्पतालमा आक्रोशित बनेका मृतक पक्षका आफन्तहरूले भुजेलले घटनाको अनावश्यक प्रचार गरेको भन्दै उनको गाडी तोडफोड समेत गरेका थिए।

आरोपको खण्डन र कारबाहीको माग
झाँक्री प्रकाश भुजेलले आफूमाथि लागेको हत्याको षड्यन्त्र वा दुरुत्साहनको आरोप पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले आफूले सधैँ उनीहरूको घरबार जोगाउने प्रयास गरेको र कुमारलाई राम्रो सल्लाह मात्र दिएको दाबी गरेका छन्।

आफ्नी दिदीसमानकी ईश्वरी भुजेलको बीभत्स हत्या गर्ने कुमार थापा मगरलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही हुनुपर्ने माग भुजेलले बताएका छन्।

सम्बन्धित समाचार:

असार १८, २०८३ बिहीबार १३:०६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।