कपडा भन्दै अमेरिका पठाउन लागिएको बाकसमा भेटिए ठूलो मात्रामा सुनका गहना, दुई कार्गो सञ्चालक पक्राउ
काठमाडौं : जुत्ता, पाइन्ट र सारी लेखेर कार्गोमार्फत अमेरिका पठाउन लागिएको बाकसबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो परिमाणमा सुनका गरगहना बरामद भएका छन्।
कपडाको आवरणमा सुनका गहना तस्करी गर्न खोजेको आरोपमा प्रहरीले दुई वटा कार्गो कम्पनीका सञ्चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा एपेक्स लजिस्टिक प्रालिका ४६ वर्षीय सञ्चालक यज्ञराज सुवेदी र युनिक कार्गो झापाका ३४ वर्षीय सञ्चालक रामप्रसाद दाहाल रहेको प्रहरीले जनाएको छ ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार युनिक कार्गोले एपेक्स लजिस्टिकमार्फत उक्त सामान अमेरिका पठाउन लागिएको थियो।
सुरक्षा कार्यालयका अनुसार असार १६ गते साँझ करिब ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा मेनिफेस्ट नम्बर एएमएस एपी ३२१ अन्तर्गत जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडा उल्लेख गरिएको कार्गो बाकस एक्स–रे परीक्षणका क्रममा शंकास्पद देखिएपछि खोलिएको थियो। बाकस खोलेर हेर्दा कपडाको सट्टा सुनका विभिन्न परम्परागत तथा आधुनिक तयारी गहनाहरू फेला परेका थिए।
कपडा भनिएको बाकसबाट २२ थान ठूलो नौगेडी, ४४ थान सानो नौगेडी, २१ गेडी थान १४, चन्द्रमा १६ थान, जन्तर २० थान, सिंगल ब्रोच १८ थान, डलब ब्रोच १८ थान, शिरफुलो ठूलो ५ थान, शिरफुल सानो २ थान, नेपालको झण्डा अंकित ब्रोच १६ थान, खुकुरी ब्रोचको आकार २३ थान, मंगलसुत्र १८ थान, मोतिमाला ३९ थान, रानिहार १ थानर त्रिशुल १ थान, बराद भएको छ।
बरामद गरिएका गरगहना तथा पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
असार १८, २०८३ बिहीबार १२:५३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।