घटनाको दिन म कुलेखानीमा थिएँ, योजना बनाउन वा हत्यामा कतै पनि संलग्न थिइनँ : कुमारकी प्रेमिकाको बयान

घटनाको दिन म कुलेखानीमा थिएँ, योजना बनाउन वा हत्यामा कतै पनि संलग्न थिइनँ : कुमारकी प्रेमिकाको बयान

काठमाडौं : तारकेश्वर नगरपालिकाको पैँयुटार हत्याकाण्डमा मुख्य अभियुक्त कुमार थापा मगर (नेपाली ब्रो) लाई श्रीमतीको हत्या गर्न दुरुत्साहन गरेको आरोप लागेकी २५ वर्षीया प्रतिक्षा आचार्यले आफ्नो संलग्नता अस्वीकार गरेकी छन्।

सरकारी वकिल कार्यालयले उनीविरुद्ध पनि जन्मकैदको मागदाबीसहित मुद्दा दायर गरे पनि अदालतमा बुझाइएको बयानमा उनले आफू हत्याको योजनामा संलग्न नभएको र उल्टै कुमारसँग सम्बन्ध तोड्न खोजिरहेको दाबी गरेकी छन्।

तर, सरकारी वकिलको अभियोग पत्रमा भने ईश्वरीका छोरा र छिमेकीहरूको बयानलाई उदृत गर्दै प्रतिक्षाले कुमारलाई श्रीमतीको हत्या गर्न निरन्तर दबाब र उक्साहट दिएको दाबी गरिएको छ।

जुम्ला घर भई काठमाडौंमा पीसीएल नर्सिङ अध्ययन गरेकी प्रतिक्षा आचार्यले अधिकारीहरूसमक्ष दिएको बयानको विस्तृत विवरण उनकै शब्दमा:

टिकटकको भेट र प्रेम सम्बन्ध
म जुम्लाबाट काठमाडौं आएर गोकर्णेश्वर, बौद्ध क्षेत्रमा परिवारसँग बस्दै नर्सिङ अध्ययन गरिरहेकी छु।

आजभन्दा करिब दुई वर्षअघि टिकटककै माध्यमबाट मेरो चिनजान कुमार थापा मगर (नेपाली ब्रो) सँग भएको हो। उनी टिकटकमा भाइरल थिए। चिनजानपछि हाम्रो फोन नम्बर आदानप्रदान भयो र हामी भेटघाट गर्न थाल्यौँ।

कुमारले मलाई टिकटक भिडियोहरू बनाउन प्रस्ताव गरे। उनी भाइरल भएकाले मैले पनि उनको प्रस्ताव स्वीकार गरेँ। पछि उनले मलाई आफ्नो रेस्लिङ खेलको ‘इभेन्ट म्यानेजर’ बनाए।

सोही क्रममा हाम्रो सम्बन्ध गहिरिँदै गयो र हामी मायाप्रेममा बाँधियौँ। हामी होटल र रेष्टुरेन्टहरूमा सँगै बस्ने गर्थ्यौँ र हाम्रो बीचमा शारीरिक सम्बन्ध पनि भयो।

प्रहरीमा मिलापत्र र मुद्दाको तनाव
हाम्रो सम्बन्धको बारेमा कुमारकी श्रीमती ईश्वरी भुजेलले थाहा पाएपछि उनीहरूबीच ठूलो विवाद सुरू भयो। आजभन्दा करिब एक वर्षअघि ईश्वरीले प्रहरी वृत्त बालाजुमा उजुरी दिइन्।

प्रहरीले हामी दुवै पक्षलाई बोलाएर सम्झाइबुझाइ गर्यो। त्यसपछि ‘अब उप्रान्त हामीबीच कुनै गलत सम्बन्ध र भेटघाट रहने छैन’ भनी हामीले कागज (मिलापत्र) गरेका थियौँ।

तर, मिलापत्र गरे पनि हामी फेरि नजिकियौँ र हाम्रो कुराकानी र भेटघाट निरन्तर भइरह्यो। एक पटक कुमारले मलाई नुवाकोटस्थित आफ्नो घरमा समेत लिएर गएका थिए।

यो कुरा ईश्वरीले थाहा पाएपछि उनले प्रहरी वृत्त बालाजुमा कुमारविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालिन्। सो मुद्दामा कुमार पक्राउ परे र पछि अदालतबाट ५० हजार रुपैयाँ धरौटीमा छुटे। यो मुद्दा हाल अदालतमा विचाराधीन छ।

‘म सम्बन्ध तोडेर विदेश जाने सोचमा थिएँ’
कुमारको पारिवारिक विवाद, अदालतको मुद्दा र दैनिक झगडाका कारण म निकै तनावमा थिएँ। उनीहरूका साना बालबच्चा भएकाले उनीहरूको घरबार नबिग्रियोस् भन्ने मेरो चाहना थियो।

त्यसैले मैले कुमारलाई स्पष्ट रूपमा भनेकी थिएँ- ‘हाम्रो सम्बन्ध अब अगाडि बढ्न सक्दैन। तिम्रो पारिवारिक समस्या हल नभएसम्म म तिमीसँग बस्न सक्दिनँ। अब हामी आ-आफ्नो बाटो लागौँ र भेटघाट बन्द गरौँ।’

म कुमारसँगको सम्बन्ध तोडेर विदेश जाने तयारीमा थिएँ र करिब एक महिनादेखि मैले कुमारसँग भेटघाट गरेकी थिइनँ। फोनमा मात्र सामान्य कुराकानी हुने गर्थ्यो।

जेठ २२ गते (घटनाको दिन) म मेरा साथीहरू रिया तामाङ र गम्भीर श्रेष्ठसहित चार जना मिलेर कुलेखानी घुम्न गएका थियौँ। हामी त्यहीँ बस्ने योजनामा थियौँ।

हत्याको खबर र आरोपको खण्डन
कुलेखानीमा बस्ने क्रममा जेठ २२ गते राति सामाजिक सञ्जाल र हल्लामार्फत कुमारले आफ्नी श्रीमती ईश्वरीको घाँटी रेटी हत्या गरेको कुरा मैले थाहा पाएँ।

त्यो सुनेर हामी निकै डराएका थियौँ र राति नै गाडी रिजर्भ गरेर काठमाडौं फर्कियौँ। भोलिपल्ट जेठ २३ गते प्रहरीले मलाई अनुसन्धानका लागि नियन्त्रणमा लियो।

ममाथि लागेको हत्याको दुरुत्साहनको आरोप लाग्यो तर यो पूर्ण रूपमा असत्य हो। मैले कुमारलाई ईश्वरीको हत्या गर्न कहिल्यै उक्साएकी छैन। ‘पहिले श्रीमतीलाई मार अनि मात्र म तिम्रो घरमा आउँछु’ भनी मैले कहिल्यै भनेकी छैन।

हो, कुमार र ईश्वरीबीचको घरायसी विवादको एउटा कारण म र कुमारबीचको प्रेम सम्बन्ध थियो, तर हत्या गर्ने योजना वा कार्यमा मेरो कुनै संलग्नता छैन।

कुमारले क-कसको सरसल्लाह वा आफ्नै आवेगमा आएर यो हत्या गरे, त्यसबारे मलाई कुनै जानकारी छैन।

सम्बन्धित समाचार:

असार १८, २०८३ बिहीबार ११:२४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।