छोराको फोनले रिस उठ्यो, बाटोमा ईश्वरीलाई देखेपछि पछाडिबाट समातेर घाँटी रेटेँ : ‘नेपाली ब्रो’को बयान
काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिकास्थित पैँयुटारमा गत जेठ २२ गते बेलुका भएको ईश्वरी भुजेल हत्याकाण्डका मुख्य अभियुक्त कुमार थापा मगर (नेपाली ब्रो) ले आफ्नो कसूर स्वीकार गर्दै प्रहरी र अदालतसमक्ष बयान दिएका छन्।
सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको अभियोग पत्रमा समावेश कुमार थापाको बयानमा उनले आफ्नो प्रेम विवाह, टिकटकको चर्चा, परस्त्रीसँगको सम्बन्ध, पारिवारिक कलह र हत्याको त्यो रातको घटनाक्रमलाई बेलिविस्तार लगाएका छन्।
अभियुक्त कुमार थापा मगरले बयानमा आवेशमा आएर हत्या गरेको दाबी गरेका छन्। तर, सीसीटीभी फुटेज, बरामद भएको ९ इन्चको चक्कु, र अभियुक्तको लोकेसनका आधारमा उनले योजनाबद्ध रूपमा श्रीमतीको बाटो छेकेर हत्या गरेको पुष्टि हुने सरकारी वकिल कार्यालयको दाबी छ।
कुमार थापा मगरले सरकारी अधिकारीसमक्ष दिएको बयानको सम्पादित अंश:
सेनाको जागिर, प्रेम विवाह र टिकटकको रहर
मेरो जन्म नुवाकोटमा भएको हो। २०६१/६२ सालतिर म नेपाली सेनामा भर्ना भएको थिएँ। सिंहदरबारमा बिगुल तालिम लिने क्रममा मेरो भेट ईश्वरी भुजेलसँग भयो। उनी पनि सेनामा सिपाही थिइन्।
हामीबीच मायाप्रेम बस्यो र हामीले प्रेम विवाह गर्यौँ। विवाहपछि हाम्रा दुई छोराहरू जन्मिए। म करिब ६/७ वर्ष सेनाको जागिर खाएर निस्किएँ र त्यसपछि १०/१२ वर्ष वैदेशिक रोजगारीका लागि विभिन्न देशमा बसेँ।
करिब ५ वर्षअघि म नेपाल फर्किएँ। नेपाल आएपछि म रेस्लिङ खेलतर्फ आकर्षित भएँ। सामाजिक सञ्जाल टिकटकमा म ‘नेपाली ब्रो’को नामले सक्रिय भएँ र मेरा थुप्रै फलोअर्स बढे।
टिकटकमा ‘भ्यूज’बढाउनका लागि मैले विभिन्न केटीहरूसँग भिडियोहरू बनाएर अपलोड गर्न थालेँ। यो कुरा मेरी श्रीमती ईश्वरीलाई मन परेन र हाम्रो घरमा विवाद सुरु भयो।
प्रतिक्षासँगको सम्बन्ध र थुनाको आक्रोश
यसै क्रममा करिब दुई वर्षअघि टिकटककै माध्यमबाट मेरो भेट प्रतिक्षा आचार्यसँग भयो। उनी नर्सिङ पढ्दै थिइन्। पछि मैले उनलाई मेरो रेस्लिङ खेलको इभेन्ट म्यानेजर नियुक्त गरेँ। हामी नजिकिँदै गयौँ र हाम्रो बीचमा प्रेम सम्बन्ध स्थापित भयो। हामी शारीरिक सम्बन्धमा समेत रह्यौँ।
हाम्रो सम्बन्धबारे ईश्वरीले थाहा पाएपछि घरमा झगडा झन् बढ्यो। ईश्वरीले प्रहरी वृत्त बालाजुमा मविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दर्ता गराइन्।
म पक्राउ परेँ। सुनुवाइपछि काठमाडौं जिल्ला अदालतको आदेशले ५० हजार रुपैयाँ धरौटीमा छुटेँ। ईश्वरीले अदालतमा सम्बन्ध विच्छेदको मुद्दा पनि हालेकी थिइन्। म बालबच्चाका कारण डिभोर्स गर्न चाहँदिनथेँ र उसलाई मुद्दा मिलापत्र गर्न पटक-पटक फकाउँदै आएको थिएँ।
घटनाको दिन : बिहानको अपमान र बेलुकाको झगडा
जेठ २२ गते अदालतमा हाम्रो मुद्दाको पेशी तोकिएको थियो। म मुद्दा मिलापत्र गर्ने विषयमा कुरा गर्न बिहान ९ बजे ईश्वरी कार्यरत सैनिक ब्यान्ड नारायणहिटीको गेटमा गएँ।
ड्युटीमा रहेका सिपाहीमार्फत उसलाई बोलाउन पठाउँदा उसले बाहिर आउन मानिन। म तनावमा बबरमहलस्थित अदालत गएँ, तर ऊ त्यहाँ पनि आइन।
त्यसपछि म बालाजुमा रहेको साथी पुजन थापाको रिकन्डिसन हाउसमा गएँ। हामीले केही बेर कुरा गर्यौँ र कीर्तिपुरको एउटा कार्यक्रममा गएर बेलुका फर्कियौँ।
बेलुका ७:३० बजे म पैँयुटारस्थित घरमा गएँ। घरमा काम गर्ने केटीसँग ईश्वरीको बारेमा सोध्दा उसले केही बोलिन। मैले कान्छो छोरा ईभानलाई भेट्न खोज्दा ईश्वरीको निर्देशन भन्दै मलाई छोरा भेट्न दिइएन र ढोका बन्द गरियो।
त्यसै बेला मेरो जेठो छोरा जेनिसले मलाई फोन गर्यो। उसले मलाई फोनमा गाली गर्दै भन्यो, ‘तँ तुरुन्त घर छोड, यो आमाको घर हो, तँ त्यो घरमा किन आइस्?’
छोराले त्यसरी अभद्र बोलेपछि मलाई साह्रै रिस उठ्यो र म अत्यधिक तनावमा परेँ। म रक्सी र आवेगको सुरमा गाडी (B AC 0344) लिएर ठमेलतर्फ जान भनी निस्किएँ।
‘पछाडिबाट समातेर घाँटी रेटेँ’
गाडी चलाएर पैँयुटारको उकालोमा पुग्दा विपरीत दिशाबाट ईश्वरी स्कुटर चलाएर आउँदै गरेकी देखिई।
मेरो गाडी देखेपछि उसले हतार-हतार स्कुटर मोडेर भाग्न खोजिन्। उसलाई देख्नासाथ मेरो रिस झन् बढेर आयो। मैले गाडी रोकेँ र गाडीभित्र जहिले पनि राख्ने गरेको बटनवाला धारिलो चक्कु गोजीमा हालेर ओर्लिएँ।
ईश्वरीले स्कुटर रोकेर वालतर्फ जान खोज्दा मैले पछाडिबाट उसलाई समातेँ। उसले प्रतिवाद गर्न खोजिन्, तर मैले पछाडिबाट अङ्गालो हाले जस्तो गरी नियन्त्रणमा लिएँ र आफूसँग भएको चक्कुले उसको घाँटी रेटिदिएँ।
घाँटी रेटेपछि उसलाई त्यहीँ छाडेर म बाटोको छेउमा चक्कु फाल्दै गाडी लिएर बालाजुटर्फ भागेँ। पछि गाडी चमतीमा छाडेर प्रहरी कार्यालयतर्फ जाँदै गर्दा म पक्राउ परेँ।
मैले ईश्वरी भुजेललाई चक्कुले घाँटी रेटी कर्तव्य गरी मारेको स्वीकार गर्दछु। यसबापत कानुन बमोजिम हुने सजाय भोग्न म तयार छु।
असार १८, २०८३ बिहीबार १०:३८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।