चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु, दुई घाइते

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु, दुई घाइते

मुगु : जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा चट्याङ पर्दा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार साँझ करिब ५:३५ बजे एनसेल टावर नजिक भेडा गोठालो गएका स्थानीय करिब १८–१९ वर्षीय रबिन्द्र रावतमाथि चट्याङ पर्दा घटनास्थलमै मृत्यु भएको हो।

उक्त घटनामा स्थानीय २० वर्षीय बलबहादुर रोकाया र करिब ३५ वर्षीय जगत रोकाया घाइते भएका छन्। प्रहरीका अनुसार दुवै जनाको अवस्था सामान्य रहेको छ।

चट्याङका कारण केही भेडा–बाख्रा पनि मरेको प्रारम्भिक जानकारी प्राप्त भएको भए पनि कति संख्यामा पशुचौपाया मरेका हुन् भन्ने यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

स्थानीय रंगबहादुर रोकायाले राति करिब ८:३० बजे प्रहरी चौकी बड्कीमा घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। घटनाबारे थप अनुसन्धान तथा क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

असार १८, २०८३ बिहीबार १०:२८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।